पैसा र पहुँचको आडमा सहकारी सुचना केन्द्र संचालन गर्न पौडेलको कसरत ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पैसा र पहुँचको आडमा सहकारी सुचना केन्द्र संचालन गर्न पौडेलको कसरत !



सहकारीका जिल्ला, केन्द्रीय तथा राष्ट्रिय संघहरुको नेतृत्व गर्नकालागि प्रारम्भिक संस्थादेखि नै प्रतिनिधित्व गर्दै आउनुपर्ने सहकारीको व्यवस्था छ । सोहि व्यवस्था अनुसार सहकारी नेताहरु कुनै छद्म संस्थाको सदस्य बनेर त्यसको प्रतिनिधिको रुपमा केन्द्रमा आउने र राष्ट्रिय संघहरुमा राजनीति गर्ने प्रवृत्ती सहकारी क्षेत्रमा मौलाउदै गएको छ । प्रारम्भिक सहकारीमा सदस्य नै नभएको व्यक्ति पार्टीको कोटाबाट सहकारी राजनीति गर्ने आरोप समेत सहकारीकर्मीहरुले लगाउदै आएका छन् । संस्थाबिनाको सहकारी नेता भनेर धेरै आरोप लागेका नेता हुन् राष्ट्रिय सहकारी संघका संचालक दक्ष पौडेल । कांग्रेसी कोटाबाट संघको संचालक बनेका पौडेलसँग सहकारी नभएको सहकारीका कार्यक्रमहरुमा गाइगुई सुनिने गरेको छ ।

दक्ष पाैडेल
पौडेलको प्रारम्भिक संस्थाबारे पछ्याउदै जादा उनी जिल्ला उपभोक्ता सहकारी संघ स्याङजाका प्रतिनिधि भएका छन् । उनको जिल्लामा प्रारम्भिक सहकारी नभएपनि कुनै प्रारम्भिक संस्थाको प्रतिनिधि भएर जिल्ला संघ हुँदै केन्द्रमा आएको बताइन्छ । पौडेललाई सहकारीमा छोटो समयमा माथिल्लो पदमा पुग्ने व्यक्तिको रुपमा लिइन्छ । कुनै समय गैरआवासीय नेपाली संगठनमा संक्रिय भएका उनी क्यानडाको ग्रिन कार्ड होल्डर समेत भएको चर्चा सहकारी क्षेत्रमा चल्ने गरेको छ ।

पौडेल सुरुपमा एक्सिलेन्स कोअपरेटिभ सर्भिसेज नामको संस्थाबाट सहकारी क्षेत्रमा आएका हुन् । अन्तरसहकारी कारोबार, आन्तरिक रेमिट्यान्स लगायतका कारोबार गर्ने अनुमति लिएर उनले देशभरको कार्यक्षेत्र लिएका थिए । सहकारी अभियानका नेता केवी उप्रेती, ओमदेवी मल्लको साथमा लागेर उनले सहकारीको पहुँच विस्तार गरेका थिए ।
पछि पौडेलले एक्सिलेन्स सहकारीलाई प्रभु ग्रुपमा लगे । अहिले प्रभु को–अपरेटिभका रुपमा काम गर्दै आएपनि पौडेल संचालक छैनन् । उनी प्रभु बैंकको संचालक बस्नका लागि सहकारीको संचालक छोडेका हुन् । तर, प्रभु समूहको सहकारीको हताकर्ता उनी नै हुन् । पौडेल तत्कालिन सहकारी मन्त्री एकनाथ ढकालको समयमा राष्ट्रिय सहकारी विकास बोर्डका विज्ञ संचालक समेत बनेका थिए । सहकारी क्षेत्रमा ‘सहकारीमा आएको सय दिन नपुग्दै विज्ञ संचालक भयो’ भन्ने आरोप समेत उनलाई लाग्ने गरेको छ । उक्त समयमा मन्त्रीलाई राम्रै आर्थिक सहयोग गरेर बोर्डको संचालक बनेका हुन् ।

सहकारी राजनीतिमा पहुँच पु¥याउनका लागि पौडेलले कांग्रेसको पाटी सदस्यता समेत लिएका छन् । पाटी नेता रामचन्द्र पौड्यालको निकट रहेको दावी गर्ने उनी काग्रेसी कोटामै राष्ट्रिय संघको संचालक बनेका हुन् । तर, कांग्रेसी सहकारीकर्मी भित्रै उनले बैठकका गोप्य जानकारी विपक्षीहरुलाई सुनाउने गरेको आरोप पनि लाग्ने गरेको छ ।

अहिले पौडेल सहकारी कर्जा सुचना केन्द्र संचालनको लविङमा लागिरहेका छन् । यसका लागि राष्ट्रिय संघभित्रै अल्पमतमा परेका छन् । संघले निजी कम्पनीलाई सुचना केन्द्र संचालन गर्न दिन नहुने बताइरहदा पौडेल भने आफ्नो कम्पनीमार्फत त्यो काम गर्नका लागि मन्त्रालय धाइरहेको बताइन्छ । सहकारीमा संघहरुको नेतृत्व गर्नका लागि प्रारम्भिक संस्थादेखि नै प्रतिनिधित्व गर्दै आउनुपर्ने व्यवस्था छ । तर, नेपालको सहकारी आन्दोलनमा भने यो व्यवस्थाको उपहास गर्दै सहकारी संस्थामा प्रत्यक्ष रुपमा संलग्न नभएका, सहकारी संस्था संचालनको अनुभव समेत नभएका व्यक्ति सहकारीका केन्द्रीय देखि राष्ट्रिय संघको नेतृत्वमा आउने गरेको पाइन्छ । नेतृत्वका लागि उनीहरुले कागजी प्रक्रियामात्र मिलाउने प्रवृत्ती रहेको भेटिएको छ ।

सहकारीहरुको अभिभावक निकाय रहेको राष्ट्रिय सहकारी संघमै यस्तो प्रवृत्ती रहेको पाइएको छ । ठुला राजनीतिक दलबिच भागवण्डाका आधारमा नेतृत्व चयन गर्ने गलत अभ्यास गरेको संघमा पार्टीले तोकेका व्यक्ति संचालन तथा पदाधिकारीमा आउने गलत प्रवृत्तीले प्रश्रय पाउदै गएको छ । यस्ता व्यक्तिहरुलाई संघको संचालक बनाउनका लागि नियम र कागजपत्र पु¥याउनका लागि समेत विभिन्न जिल्ला संघहरुको प्रतिनिधि बनाएर उभ्याएको देखिएको छ । संघहरुको यस्तो चरम राजनीतिकरण हुँदा समेत नियामक निकाय सहकारी विभागले भने कुनै हस्तक्षेप गर्न सकेको छैन । वर्तमान सहकारी मासिकबाट साभार

प्रकाशित : ११ श्रावण २०७३, मंगलवार ०४:०७