ग्लोबल आइएमई बैंक पनि अर्बपतिको सूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंक पनि अर्बपतिको सूचीमा



imeकाठमाडौं । ग्लोबल आइएमई बैंकले पनि अर्बपतिको सूचीमा आफूलाई सुरक्षित राखेको छ ।  बैंकले आर्थिक वर्ष २०७२–७३ मा एक अर्ब ३८ करोड ६६ लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ४२ करोड ६० लाख ७८ हजार रूपैयाँले बढेको हो । अघिल्लो आवमा बैंकको खुद नाफा जम्मा ९६ करोड ६ लाख आठ हजार रूपैयाँमात्र थियो ।

यसपटक वित्तीय विवरण सार्वजनिक गरेका चारवटै बैंक अर्बपति सूचीमा प्रवेश गरेका छन् । यसअघि एनआइसी एसिया, सानिमा र सिटिजन्सले वासलत सार्वजनिक गरिसकेका छन् । यी तीनवटैले नाफा अर्ब कटाएका थिए ।

अब मध्यमस्तरका बैंकहरू पनि विस्तारै एक अर्ब नाफा कमाउने हैसियत बनाउँदै जान थालेको संकेत मिलेको छ । आगामी दुई वर्षभित्र सबै वाणिज्य बैंक एक अर्ब नाफा कमाउने हैसियतमा पुग्ने देखिएको छ ।

कमर्ज एन्ड ट्रस्ट बैंकसहित अन्य केही संस्थालाई मर्ज गरिसकेको ग्लोबल आइएमईको चुक्ता पुँजी ६ अर्ब १६ करोड ४२ लाख  ६८ हजार रूपैयाँ पुगेको छ ।

बैंकको रिजर्भ कोषमा दुई अर्ब ५४ करोड ५९ लाख १२ हजार रूपैयाँ जम्मा भइसकेको वित्तीय सूचकले देखाएको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकलाई त्यति गाह्रो पर्ने देखिंदैन । अन्य समकालीन बैंकको तुलनामा चुक्ता पुँजी केही बढी हो ।

बैंकले बोनस दिएर चुक्ता पुँजी आठ अर्ब पुर्याउन सक्ने देखिएको छ । यसबाहेक हकप्रद वितरणको सम्भावना पनि बाँकी नै छ । पुँजी तुलनात्मकरूपमा अलि बढी भएकाले दोस्रो बजारको भाउमा भने थोरै सुस्त भएको हो ।

ग्लोबल आइएमईले व्यापार विस्तारको सम्भावनालाई धेरै नै तेजी बनाएको पाउन सकिन्छ । किने भने बैंकले निक्षेप संकलन र कर्जा लगानीलाई आक्रामकरूपमा अघि बढाएको छ ।

गएको आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ७४ अर्ब ६८ करोड २९ लाख १७ हजार रूपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८४ करोड १३ लाख ६४ हजार रूपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

५८ करोड ८४ लाख ८५ हजार रूपैयाँ सम्भावित जोखिम कोषमा पैसा राख्दा यसअघि जोखिम बापत छुट्याएको २५ करोड २२ लाख २९ हजार रूपैयाँ राइट ब्याक गर्न पनि बैंक सफल भएको देखिन्छ ।

बैंकको खराब कर्जा अनुपात तुलनात्मकरूपमा अलि बढी देखिन्छ । वासलत अनुसार खराब कर्जा १.८७ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २२.५० पैसा, मूल्य आम्दानी अनुपात २२.८९ गुणा  र प्रतिसेयर नेटवर्थ एक सय ४१ रूपैयाँ ३० पैसा छ ।

प्रकाशित : १३ श्रावण २०७३, बिहीबार १४:०४