कांग्रेस उपसभापति श्रेष्ठले वडापछि नगरमा झिके बखेडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कांग्रेस उपसभापति श्रेष्ठले वडापछि नगरमा झिके बखेडा



स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठका कारण उनकै गृह जिल्ला स्याङ्जाको पुतलीबजारमा पनि विवाद उत्पन्न भएको छ । यसअघि श्रेष्ठकै पुतलीबजार नगरपालिका वडा नं ३ को वडा अधिवेशनमा समेत उनले आफ्ना दुइ छोरालाई क्षेत्रीय प्रतिनिधि बनाउन बारम्बार दबाद दिदाँ विवादले उग्र लिएको थियो ।

वडामा उत्पन्न विवादलाई समाधान गर्नका लागि हम्मे हम्मे नै परेको थियो । जसका कारण साविकको वडा नं ४ का श्रेष्ठ निकट वडा सभापति कृष्ण श्रेष्ठलाई अन्यत्र ‘एडजस्ट’ गर्ने आश्वासन दिएपछि उनलाई ‘ब्याक’ गरेर आफ्ना दुइ छोराहरु (सम्पुर्णमान श्रेष्ठ र राजु श्रेष्ठ) लाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए ।

अहिले फेरी आसन्न नगर अधिवेशनमा पनि श्रेष्ठकै गृहनगर पुतलीबजारको नगर सभापतिमा आफ्नै नाती विक्रान्त श्रेष्ठ (सुवर्ण) लाई उम्मेद्वार बनाउन लागेपछि जिल्लामा उनकै समूहभित्र समेत चरम असन्तुष्टी देखिएको छ । यसअघि श्रेष्ठकै सक्रियतामा सुवर्णलाइ उद्योग वाणिज्य संघ स्याङ्जाको सभापति समेत बनाईसकेका छन् । सुवर्ण गोपालमानकी दिदीको नाती हुन् ।

यसरी वडा तहदेखि नै केन्द्रीय स्तरको नेताले पटक–पटक हस्तक्षेप गरेपछि आम कांग्रेसीजन मात्र नभई उनकै समूहमा समेत खैलाबैला मच्चिएको छ । लामो समयदेखि श्रेष्ठकै समूहमा रहेर राजनीति गरेका पुतलीबजार वडा नं ३ का नेता दिर्घनारायण शर्मा समेत अहिले उनीसँग रुष्ट छन् ।

श्रेष्ठको समूहमा रहेर राजनीति गर्ने र अवसर पाउने बेलामा सधै आफन्तजनले पाउनुपर्ने भन्दै शर्मा रुष्ट बनेका हुन् । श्रेष्ठले उमेद्वारी नदिन भन्दै फकाएपछि शर्माले कार्यवहाक सभापति कुमार राना र प्रदेशसभा सांसद भागवतप्रकाश मल्लको गठबन्धनमा लागेका छन् । राना वा मल्ल दुवै जिल्ला सभापतिका आकांक्षी रहेका भएपनि थापालाई पराजित गर्न एकलाई मात्र उमेद्वारी दिन लगाउने तयारी भईरहेको छ ।

त्यसैले शर्माले यसपटक पुतलीबजार नगर सभापतिको लागि उम्मेद्वारी घोषणा गरेर कार्यकर्ता भेटघाटमा रहेका छन् । उनले उम्मेद्वारी घोषणा गरेसँगै नेता श्रेष्ठले पटक–पटक भेट्न बोलाई उम्मेद्वारी नदिनका लागि सुल्झाउँदै आएका छन् । सधै पछाडी पारेको भन्दै यसपटक हारेपनि/जितेपनि यसपटक भने श्रेष्ठको आश्वासनमा नपर्ने र जसरी पनि नगर सभापतिमा लड्ने बताउँदै आएका छन् । श्रेष्ठले सुवर्ण र शर्मामध्ये एकजनालाई ‘ब्याक’ गराउन नसकेको खण्डमा नगर सभापति आफ्नो पोल्टामा नआउने देखेपछि उनले यतिबेला व्यक्तिगत रुपमै आफूहरुलाई फोन गरेर सहयोगका लागि हारगुहार गर्न थालेको क्षेत्रीय प्रतिनिधिहरुले बताएका छन् ।

श्रेष्ठ समूहबाट २ जनाले उम्मेद्वारी दिने घोषणा भईसकेको परिस्थिीतिमा सभापतिका प्रत्यासी राजु थापा समूहबाट नगर सभापति पदमा उम्मेद्वारी दिएका सुरज अधिकारी बलियो देखिएका छन् । श्रेष्ठकै कारण २ जना उम्मेद्वार हुने भएपछि भोट बाडिने भएकाले अधिकारीलाइ फाइदा पुग्ने देखिएको हो । त्यसो त पुतलीबजार ३ का युवा नेता मनोज मल्ल पनि नगर सभापति पदमा उम्मेद्वारी दाबी गरेक भएपछि उनलाई नेता थापाले अन्य भूमिकामा स्थान दिने बताएपछि उमेद्वारी नदिन सहमत भइसकेका छन् ।

केन्द्रीय सभापति जस्तो पदमा उम्मेदरीको घोषणा गरिसकेका श्रेष्ठले वडा, नगर लगायतका अधिवेशनमा अनावश्यक हस्तक्षेप गरेर ‘किचलो’ निम्त्याएका भन्दै उनको आफ्नै गृहनगरमा निकै आलोचना भएका छ । साथै विगतमा निकै सबल रहेको स्याङ्जा कांग्रेस पछिल्लो समय निरन्तर कमजोर हुनुको मुख्य कारक पनि श्रेष्ठ रहेको स्थानीय नेताको आरोप छ ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १९:०८