गुल्मीको छत्रकोटका ३१ कृषकलाई पेन्सन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

गुल्मीको छत्रकोटका ३१ कृषकलाई पेन्सन



गुल्मी। छत्रकोट गाउँपालिकाले गत वर्ष कृषकलाई पेन्सन दिर्ने निर्णय गरेपछि कतिपयले सस्तो लोकप्रियता भनेर आलोचनासमेत गरे । तर, अहिले गाउँपालिकाले ३१ जना कृषकलाई पेन्सन वितरण गरेको छ ।

गाउँपालिकाले नवौँ गाउँसभाबाट ‘कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यक्रम संचालन कार्यविधि’, २०७७ पारित गरेको थियो । गाउँपालिका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति छ भने उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको व्यवस्था गरिएको छ ।

किसानको तथ्यांक संकलन र पहिचान गरेर तीन वर्गमा विभाजन गरिएको छ । अहिलेलाई कृषि व्यवसायबाट वार्षिक रूपमा नेपाल सरकारको सुब्बा स्तरको कर्मचारी बराबर आम्दानी गर्ने कृषकलाई मासिक एक हजार रुपैयाँका दरले पेन्सन अर्थात् कृषक प्रोत्साहन भत्ता वितरण गरिएको कृषि अधिकृत सपना भण्डारीले जानकारी दिइन् ।

गाउँपालिकाले व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक विकास हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध कृषक उत्पादन गर्ने उद्देश्यले पेन्सन (प्रोत्साहन भत्ता) वितरण गर्ने योजना बनाएको गाउँपालिका प्रमुख मधुकृष्ण पन्थले बताए ।

यस अभियानबाट गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने अपेक्षा गाउँपालिकाको गरेको छ । ‘क’ वर्गको कृषकलाई हरियो, ‘ख’ वर्गको कृषकलाई नीलो र ‘ग’ वर्गको कृषकलाई पहेँलो परिचयपत्रको व्यावस्था गाउँपालिकाले गरेको छ ।

कृषकले वर्गअनुसार पेन्सन प्राप्त गर्नेछन् । कार्यविधिअनुसार पशु-पक्षीको हकमा गाईभैँसी, बाख्रा, बंगुर, कुखुरा प्रजाति, मौरी, स्थानीय हाँस र कृषितर्फ कागती/सुन्तला/अमिलो/आँप/लिची जात, तरकारी टनेल, च्याउ, कफी, उखु र भुइँकटहर उत्पादनलाई गाउँपालिकाले प्राथमिकता दिएको छ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २१:३१