फोन तथा इन्टरनेट नचल्दा जनगणना सूचीकरणको काम प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

फोन तथा इन्टरनेट नचल्दा जनगणना सूचीकरणको काम प्रभावित



खोटाङ। फोन तथा इन्टरनेटको सहज पहुँच नहुँदा खोटाङमा राष्ट्रिय जनगणनाका लागि घर तथा घर परिवार सूचीकरणको काम प्रभावित भएको छ । गाउँघरमा इन्टरनेट नचल्ने तथा कतिपय गाउँमा फोन नै नटिप्ने समस्याले जनगणनाका लागि घर तथा घर परिवार सूचीकरणको काममा असर पुगेको हो । 

फिल्डमा इन्टरनेट नचल्दा मोबाइल एप्सबाट दैनिक कार्य प्रगति अपडेट गर्न कठिन भइरहेको छ । फिल्डमा खटिएका सुपरिवेक्षकसँग सम्पर्क गर्न वा समस्या परेका बेला स्वयं सुपरिवेक्षकलाई माथिल्लो निकायमा फोन गर्नसमेत कठिन भइरहेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले बताए ।

‘मोबाइल एप्सबाट दैनिक कार्य प्रगति अपडेट गर्नु पर्नेमा मोबाइल तथा इन्टरनेट सेवा राम्रो नभएका कारण सो कार्य सोचे अनुसार हुन सकिरहेको छैन,’ जनगणना अधिकारी कोइरालाले भने, ‘फिल्डमा खटिएका सुपरिवेक्षकसँग सम्पर्क गर्न वा कुनै समस्या पर्दा सुपरिवेक्षकले हामीलाई सम्पर्क गर्न एकदमै कठिन भइरहेको छ ।’ 

 वर्षाको समय अझै नसकिएको, भौगोलिक विकटता र पहाडका छरिएका बस्तीमा पुग्न सुपरिवेक्षकले पैदल यात्रा गर्नु पर्ने भएकाले पनि कार्य प्रगति अपेक्षा गरे अनुरूप हुन नसकिरहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ । यस्तै, खराब मौसम र खराब सडकका कारण सवारी साधन नचल्दा सूचीकरण र सुपरिवेक्षण दुवै कार्यमा अवरोध भइरहेको कोइरालाको भनाइ छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा राष्ट्रिय जनगणनाअन्तर्गत भदौ ३० गतेदेखि घर तथा घर परिवार सूचीकरणको काम भइरहेको छ । उक्त अभियान असोज १८ गतेसम्म सञ्चालन हुने छ । सोमबारसम्ममा घर तथा घर परिवार सूचीकरणको कार्य प्रगति करिब २० प्रतिशत भएको जनगणना अधिकारी कोइरालाले बताए । खोटाङमा घर तथा घरपरिवार सूचीकरणको काममा ७१ जना सुपरिवेक्षक खटाइएका छन् । 

दोस्रो चरणमा आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकमार्फत मुख्य गणनाको विवरण संकलन गरिने जनाइएको छ । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्य २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ रहेका थिए ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २१:५७