मन्त्री चयनमा पौडेलको आपत्ति, देउवाले बोलाए पदाधिकारी बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मन्त्री चयनमा पौडेलको आपत्ति, देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

मंगलबार कांग्रेस नेता तथा सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्ता गठबन्धनका दलहरूबीच सहमति भएपछि पौडेलले देउवाले एकलौटी गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

पौडेलको आपत्ति पछि सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् । यस्तै प्रधानमन्त्रीले पार्टीभित्र सल्लाह नगरी एक्लै अगाडि बढ्न खोजेको भन्दै पौडेलले संस्थापन इतर समूहको बैठक बोलाएका छन् । पौडेल पक्षको बैठक आज बिहान ९ बजे बोहोराटारमा बस्ने पौडेल निकट एक नेताले बताए ।

पौडेलले पार्टीभित्र सल्लाह गरेर मात्र मन्त्रीको टुंगो लगाउनुपर्ने भनेपछि सभापतिले पदाधिकारी बैठक बोलाएको देउवा निकट एक नेताल बताए । ‘सभापतिले पार्टीभित्र सल्लाह गरेर नै जानुहुन्छु,’ ति नेताले भने, ‘परराष्ट्रमन्त्री तत्काल आवश्यक परेकाले खड्कालाई बनाउने नेताहरूले सहमति गरेका हुन् ।’ पौडेल पक्षबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजाल परराष्ट्रमन्त्रीका दावेदार थिए ।

कांग्रेसले परराष्ट्रमन्त्री पाउने सत्ता गठबन्धनका नेताहरूबीच सहमति भएपछि देउवाले खड्कालाई जिम्मेवारी दिन चाहेको बताएका थिए । देउवाले यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा पनि गठबन्धनमा विवाद भएको थियो । देउवा नेतृत्वको सरकार गठन भएको ७१ दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धनको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ०८:२२