अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन रिसोर्टमा, विप्लवले सम्बोधन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन रिसोर्टमा, विप्लवले सम्बोधन गर्ने



पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्व माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा आजदेखि हुँदैछ । अखिलको २२औं सम्मेलन असोज ८ असोजसम्म चल्ने छ । अधिवेशनको उद्घाटन महासचिव विप्लवले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन मात्रै गरेको भन्दै यसलाई सुधार्नका लागि नयाँ प्रणाली आवश्यक भएको केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए ।

‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने उनको दाबी छ । अखिल क्रान्तिकारीले सबै खाले शिक्षा नि:शुल्क हुनुपर्ने माग राखेको छ ।

सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागी हुने जनाइएको छ । ७७ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

सम्मेलन शुरु हुनुअघि अखिल क्रान्तिकारीले र्‍याली निकाल्ने जनाएको छ । सम्मेलनको उद्घाटन चिप्लेढुंगास्थित खुला सडकमा हुने छ भने बन्द सत्र लेकसाइडको कुटी रिसोर्टमा गरिने छ । कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने उनले बताए ।

सम्मेलनअघि अखिलले फेवातालको जमिन अतिक्रमणविरुद्ध प्रदर्शन गर्दैछ । सम्पदाको दुरुपयोग, अतिक्रमण र दोहनविरुद्ध खबरदारीका लागि प्रदर्शन गर्न लागिएको ढकालले बताए । अहिले ताल अतिक्रमणको संकेतपूर्ण विरोध गर्ने र पछि सशक्त आन्दोलन गरिने उनको भनाइ छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ०८:३३