नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, आजै शपथ, पदभार ग्रहणपछि अमेरिका जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, आजै शपथ, पदभार ग्रहणपछि अमेरिका जाने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । कांग्रेस विदेश विभाग प्रमुखसमेत रहेका सांसद खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको बताए । मन्त्री खड्कालाई राष्ट्रपतिले आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ । महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क जाने कार्यक्रम तय भएको छ ।

सत्तारुढ गठबन्धनको मंगलबार बेलुकी बसेको बैठकले परराष्ट्रमन्त्री कांग्रेसले पाउने सहमति भएलगत्तै प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रको जिम्मेवारी दिएका थिए ।

उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:०५