कांग्रेसका पूर्व जिल्ला सभापति र नेविसंघ महामन्त्री वडामै पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

कांग्रेसका पूर्व जिल्ला सभापति र नेविसंघ महामन्त्री वडामै पराजित



काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व जिल्ला सभापतिलगायतका नेताहरू वडामै पराजित भएका छन् । सिन्धुपाल्चोक र रोल्पामा पूर्व जिल्ला सभापति र नेविसंघका महामन्त्री वडामै पराजित भएका हुन् । मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थापा बाह्रबिसे नगरपालिका–३ मा पराजित भएका हुन् । नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना त्रिपुरासुन्दरी–४ का तिमिल्सिनाले १७ मत मात्र प्राप्त गरेका थिए ।

यस्तै रोल्पामा सभापति शेरबहादुर देउवा निकट पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित भएका छन् । देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएका थापा साबिकको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष पनि हुन् । १२औँ अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका घर्ती यसपटक वडामै पराजित भएका हुन् ।

यस्तै रोल्पाकै वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भएका छन् । यस्तै सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल पनि वडामै पराजित भएकी छन् ।

सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको हो । कांग्रेसमा वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि पालिका, प्रदेशसभा क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनका लागि मतदाता हुन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:१४