यी हुन सहकारीको ढाडमा टेकेर लाभको पद लिने जनप्रतिनिधी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन सहकारीको ढाडमा टेकेर लाभको पद लिने जनप्रतिनिधी



काठमाडाै । सहकारिताको मर्म र ऐन तथा नियमावली पनि विपरीत सांसद, स्थानीय जनप्रतिनिधि, र नेतृत्व तह नै सहकारी संस्थाको सञ्चालक बस्ने क्रम रोकिएको छैन । सहकारी विभागले ऐन कार्यान्वयन नगर्दा यस्तो समस्या आएको हो ।


सहकारी ऐन २०७४ बमोजिम बनेको नियमावली २०७५ को नियम ८१ ले सहकारीमा कस्ता सदस्य बन्न सक्ने र समितिमा रहन सक्ने व्यवस्था गरेको छ । उक्त नियमअनुसार सरकारी कर्मचारी, चुनाव जितेको वा लाभको पद धारण गरेको व्यक्ति सहकारीको सञ्चालक बस्न पाइँदैन ।

सुदूरपश्चिमका प्रदेश सांसद तारा लामा तामाङ हाल आर्थिक मामिला तथा योजना मन्त्री छन् । तामाङ राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक हुन । काभ्रेको धुलिखेल नगरपालिका ३ को वडा अध्यक्ष विनोद पराजुली , चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक हुन् ।

पनौती नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी सहकारी अभियानमा पनि सक्रिय छन् । मण्डन देउपुर वडा नम्बर ६ का अध्यक्ष डिल्ली आचार्य बिहानी सम्वद्र्धन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । जनप्रतिनिधि नियमविपरित सहकारीका नेतृत्व तहमै बसिरहेका छन् ।

यस्तै बागमती प्रदेश सभाका सदस्य राजेन्द्रप्रसाद पाण्डे मनमोहन मेमोरियल अस्पताल सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीका अध्यक्ष र स्वास्थ्य केन्द्रिय सहकारी संघको अध्यक्ष पनि छन् । यी केही उदाहरण मात्र हुन् ।

लाभको पद धारण गरेको व्यक्ति सहकारीको सञ्चालकमा बस्न पाइँदैन तर विद्यालयका हेडमास्टरदेखि स्थानीय जनप्रतिनिधि सहकारीका सञ्चालक बसिरहेको सहकारी विभागको तथ्याङ्क छ । तर, सहकारी विभागले नियमावली कार्यान्वयन गर्न सकिरहेको छैन ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार १२:१४