पर्यटन मन्त्रीको बिलौना ‘सपना साँचेर आए तर काम गर्न सकिन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्यटन मन्त्रीको बिलौना ‘सपना साँचेर आए तर काम गर्न सकिन’



काठमाडौ १८ साउन । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) द्धारा राजधानीमा आयोजित  पर्यटनमन्त्रीको कार्यकालको समिक्षा विषायक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले भने, ʽके गर्न सकिनस् भन्दा मैले थुप्रै गर्न सकिन, जब मैले सपना साँचेर आएको थिए । जे गरें अत्यन्त थोरै मात्र गरें ।ʼ उनले थप्दै भने, ʽमलाई भन्नु हुन्छ भने म यो गरें त्यो गरें भन्दिन, तर अत्यन्त थोरै काम गरें । मैले यो क्षेत्रलाई हेर्न आएको होईन फेर्न आएको भनेको थिएं, सोचेअनुरुप फेर्न सकिन ।ʼ

उनले आफुले गरेका धेरै कामहरु मध्ये नेपाल बुद्धिजमको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु आफ्नो ठूलो उपलब्धी भएको चर्चा गरे । त्यस्तै मन्त्रालयको प्रस्तावअनुसार नेपालको स्वास्थ्य र शिक्षाका विषयमा ध्यान दिंदै योगको सुरुवात गरेको बताए । नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दिर्घकालिन कृषि रणनीति तयार पार्न सहयोग पुर्याएको बताए । पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन नसक्ने उनको भनाई रहेको छ ।

मन्त्री पोखरेलले एयरपोर्ट(विमानस्थल)को विषयमा सुधार गर्न नसकेको भन्दै दुखेसो व्यक्त गरे । उनले भने, ʽफेर्न खोजेको र फेर्न नसकेको भनेको एयरपोर्ट हो । तर जे जति भएको छ देखिनेगरि भएको छ । सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ । एयरपोर्टको काम प्रति म सन्तुष्ट छैन ।ʼ एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाईने व्यवस्था गरेको भन्दै कर्मचारीले पनि इमान्दारीताफूर्वक काम गर्नुपर्ने उनले बताए । एयरपोर्टको सुधार गर्ने हो भने छुट्टै अधिकारसम्पन्न निकाय गठन गरि सोही अन्तर्गत गृह, अर्थ, रक्षा र प्रहरी प्रशासनलाई पनि निर्देश गर्ने व्यवस्था हुनुपर्ने बताए । उनले भने, ʽगृह, अर्थ, रक्षा, विभन्न क्षेत्रका कर्मचारीलाई एउटै स्थानबाट ल एण्ड अर्डर गर्ने व्यवस्था भयो भने मात्रै एयरपोर्ट सुध्रिन्छ ।

प्रकाशित : १८ श्रावण २०७३, मंगलवार १०:५२