यस कारण शेयर बजार भद्रगोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस कारण शेयर बजार भद्रगोल



stocksकाठमाडौं,  २५ साउन । बजारमा हुने अस्वभाविक उतारचढाव ईन्साइडर ट्रेडिङले गर्दा भएको वरिष्ठ शेयर विश्लेषक गोपाल भट्टले बताएका छन् । मिडिया इन्टरनेशनलले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । नेपाल राष्ट्र बैंकका निर्देशक समेत रहेका भट्टले उतारचढाव नहुने बजार नै नभएको भन्दै पछिल्लो बजारमा घट्नुमा केही समस्या रहेको उल्लेख गरे । बजार आफ्नै गतिमा चल्नु पर्ने बजारको विशेषता अनुसार नभएर बजारमा हुने अनावश्यक हल्लाको पछि लगानीकर्ता लाग्दा अस्वभाविक वृद्धि वा गिरावटको समस्या आउने गरेको उनले बताए ।

शेयरको फ्रि प्राइसिङ नहुँदा नै बजारमा खेल्ने अवसर जान्ने बुझ्ने लगानीकर्ताहरुले पाउँने गरेको उनको तर्क छ । उनका अनुसार बजारमा कम्पनीको हकप्रद, एफपिओको खबर फैलाएर लाभ दिन सकिने अवस्था नै फ्रि प्राइसिङ नहुँदा आएको हो ।‘अहिले १ सय अर्थात् अंकित मुल्यमा हकप्रद र एफपीओ जारी गरिने चलन धेरै रहेकोले बजारमा सबैको आकर्षण हुने गरेको छ, तर प्रिमियममा यस्ता शेयर आउँने हो भने लगानीकर्ताले हकप्रद वा एफपिओ लिने कि नलिने भन्ने तर्फ पनि सोच्न थाल्ने भएकोले बजारमा अस्वभाविक वृद्धि हुने अवस्था रोकिन्छ,’ उनले स्पष्ट पारे ।

उनका अनुसार लगानीकर्ताले छोटो अवधिमै बजारबाट समेत प्रतिफल लिन बोनश वा हकप्रदको समाचार फैलाउँने गर्छन् । त्यस्तै बैंक तथा वित्तिय संस्थाबाट सिधै लगानीकर्ताले शेयर धितोमा कर्जा पाउँने गरेकोले पनि अन्य शिर्षकबाट पनि कर्जा प्रवाह भएर बजारमा आउने गरेको उनले जानकारी दिए । यसको निराकरणको लागि ब्रोकर कम्पनीहरुले मार्जिन लेण्डिङ प्रदान गर्न सक्ने सुविधा हुनु पर्ने उनको सुझाव छ ।
कार्यक्रममा ब्रोकर एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मीले लगातार ८ दिनसम्म २ सय भन्दा बढी अंकले बजार घट्दा लगानीकर्ता पेनिक भएका हुन् । उनले बजारलाई आफ्नै गतिमा चल्न दिनुपर्ने र कसैले पनि बजारलाई प्रभावित पार्ने अभिव्यक्ति दिन नहुने बताए ।

‘हामी लगानीकर्तासंग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्छाै, मैले देखेको छु, अधिकांश मानिसहरु कम्पनीको अवस्था बुझेरभन्दा पनि हल्लाको भरमा लगानी गर्ने गर्छन्,’ उनले अनुभव सुनाए । हल्लाको भरमा नभई कम्पनीको वास्तविक अवस्था बुझेर मात्र लगानी गर्न उनले लगानीकर्तालाई सुझाए ।

उनले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको समेत बचाउ गरे । बजार घट्नुमा डा. कार्कीको अभिव्यक्ति पनि केही हदमा कारक जस्तो देखिएपनि सरकार परिवर्तन र लगानीकर्ताको बुझाईको कारण भएको औल्याए । यसअघि सुषुप्त रहेको पूँजी बजार अध्यक्ष कार्की आएपछि चलायमान भएको भन्दै उनको पछिल्लो अभिव्यक्ति कै कारण बजारमा नकारात्मक प्रभाव परेको भन्न नमिल्ने तर्क गरे ।

कार्यक्रममा लगानीकर्ता संघका अध्यक्ष उत्तम कार्की, ईन्भेष्टर फोरमका प्रतिनिधिहरुले बजारलाई जिवन्त राख्न उतारचढाव स्वभाविक भएपनि पछिल्लो समयमा चलखेल भएर बजार घटेको दाबी गरे । बजारलाई माग र आपूर्तिको आधारमा नै चल्न दिनुपर्ने र नियामक निकायका व्यक्तिहरुले बोल्दा बजारलाई प्रभाव नपार्ने हिसाबले सोच विचार गरेर बोल्नु पर्ने धारणा पनि अधिकांशले राखे ।

प्रकाशित : २५ श्रावण २०७३, मंगलवार १२:०९