बढी यात्रु बोके रुट परमिट र लाइसेन्स दुवै खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बढी यात्रु बोके रुट परमिट र लाइसेन्स दुवै खारेज



काठमाडौं, १ भदौ  । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।

सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको तत्काल रुट परमिट र चालकको लाइसेन्स खारेज हुने भएको छ । मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो ।

बैठकले सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट (सडकमा सञ्चालन अनुमति) तथा चालकको लाइसेन्स खारेज र अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार मन्त्रालयले मालवाहक गाडीले यात्रु र यात्रुवाहकले सामान बोकेको पाइए गाडीको रुट परमिट, चालकको अनुमति खारेज गर्ने र अधिकतम दण्ड जरिवाना गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रालयले बढ्दो गाडी दुर्घटना रोक्न सवारी कानुनमा भएका कमी कमजोरी हटाउन यातायात व्यवसायी, मजदुरसहित सबै सरोकारवालासित परामर्श गरी १० दिनभित्र ऐनको संशोधनको मस्यौदा तयार पार्ने निर्णय गरेको लेखकले जनकारी दिए । आजको कान्तिपुर दैनिकबाट ।

प्रकाशित : १ भाद्र २०७३, बुधबार ०३:३०