‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिराे घटना दोहोरिन सक्छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिराे घटना दोहोरिन सक्छ’



पोखरा। मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालकाे संख्या बढ्ने गरेकाे देखाएकाे छ ।

गत असारमा पनि हिमाली क्षेत्रमा ठूलाे पानी पर्‍याे, जबकि हिमालपारी ठूलाे वर्षा नभइ हिमपात हुनुपर्ने हाे । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकले गरेका छन् । नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालसंग न्यूजकारखानाले गरेको संवाद । प्रस्तुत छ संवादकाे सम्पादित अंश 

हिमाली क्षेत्रमा हिमपहिराेसहित विपद्का घटना किन बढ्दै छन् ? जलवायु परिवर्तनकै असर हो कि ?
घटनाको प्रकृतिकाे अध्ययन नगरी ठ्याक्कै भन्न अप्ठेरो छ । वास्तविकता बुझ्नु पर्छ । एउटा कुरा के प्रष्ट छ भने, पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १.१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्वन उत्सर्जन नै हो ।

तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा बृद्धि हुन्छ र पुनराबृत्ति पनि छिटोछिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो ।

बेमौसमी वर्षा र  पहिरोका घटना बढिरहेका छन् । वर्षाको मौसम सकिएपछि पनि अनौँठो खालको वर्षा हुने थालेकाे छ जसकाे उदाहरण असाेज अन्तिम साताकाे भीषण वर्षा हाे । यी घटनालाई जलवायु परिवर्तनसँग जाेड्न सकिन्छ ।

गण्डकीका धेरै जिल्ला हिमालसँग जोडिएका छन् । त्यहाँकाे अवस्था कस्ताे छ ?
जल तथा माैसम विज्ञाान विभागकाे तथ्यांक अनुसार नेपालमा तापक्रम बृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्रीसेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री छ । प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, ० डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठूलो अन्तर हो । त्यसमा पनि गण्डकी प्रदेशमै त्यस्तो देखिएको र हिमाली भेगमा तापक्रम बृद्धि अधिक छ । यस्ताे असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।

टुकुचे हिमालबाट हिमपहिरो  खस्याे । गण्डकीमा हिमताल फुट्न सक्ने सम्भावना कति छ ?
नेपालमका रहेका हिमतालमध्ये ४७ वटा  जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । गण्डकीका तीन वटा हिमताल यस्ता छन्, जाे फुट्न सक्छन्  ।

मनाङको ठूलागी ताल झन जाेखिममा छ ।  हिमाली क्षेत्रकाे जाेखिमबारे प्रदेश सरकारलाई पनि जानकारी गराएको छु । अन्तराष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनराबृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनाराबृत्ति हुने देखाएको छ ।  गण्डकीमा वर्षाको चरित्रमा ठूलो फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढ्छन् र थोरै दिनमै धेरै पानी पर्ने अवस्था छ ।

त्यसो भए सरकारले पनि पूर्वतयारी गर्नुपर्ने भयो ?
पूर्वतयारीको भूमिका धेरै ठूलो छ । जोखिम पहिचान गर्नुपर्छ । जाेखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्वतयारी र विपद्सँग जुध्न तीन वटै सरकारबीच समन्वय हुनुपर्छ ।

मुस्ताङ र मनाङका भुगोल कति जाेखिममा छ ?
मुस्ताङमा जोखिम छ, अरु ठाउँ छैन भन्न खोजेको होइन । नेपालका अरु जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम बृद्धिदर बढी छ । सुक्खा, खडेरी पनि यहाँ धेरै छ ।

खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्वन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको काेप-२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेण्ट हो । अर्को स्लो इभेण्ट पनि छ ।

लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ । मेरा विद्यार्थीले मुस्ताङ अध्ययन गरेका छन् । याकको चरन क्षेत्र घटेकाले धेरैले पेशा छाडेका छन् । अरु काममा लागेका छन् ।‍

तस्बिर : ढकालकाे फेसबुकबाट ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार १०:४३