बजार हरियो, बीमा चम्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजार हरियो, बीमा चम्कियो



stockकाठमाडौं । झन्डै दुई सय अंकको करेक्सनपछि बजार फेरि उकालो लाग्न थालेको छ। बुधबार सेयर बजार ४८.७६ अंकले बढेको छ । नेप्से परिसूचक १७३०.६२ विन्दुमा पुगेको छ। निरन्तर रातो बजार हेरेर निराश भएका लगानीकर्तामा बुधबारको बजारले केही आसा पलाएको छ। अब बजार फेरि पुरानै धुनमा अघि बढ्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।

कारोबार पनि अघिल्लो दिनको तुलनामा बढी भएको छ । बुधबार अर्बभन्दा बढीको कारोबार भएको छ । बैंक र बिमाले बजारलाई माथि उठाएका छन् । बिमा साढे पाँच सय अंकले बढेको छ भने बैंक पनि करिब चालिस अंकले उकालो लागेको छ। बुधबारको बजारमा बिमा कम्पनीहरु विशेष रुपमा चम्किएका छन् ।

बिमा समूहको परिसूचक बुधबार ६ सय अंकले माथि उक्लेको छ । एकैदिन हासिल भएको यो वृद्धि निकै उच्च हो । अधिकांश बिमा कम्पनीको भाउ दस प्रतिशतले बढेको छ भने कारोबार पनि राम्रो भएको छ । पुँजी वृद्धिका लागि आकर्षक हकप्रद र बोनसको आसमा लगानीकर्ताहरु फेरि बिमातिर झुम्मिएका छन् । निकै लामो समय सुस्त देखिएको बिमा समूह अब बजारमा चम्किने संकेत दिएको छ ।

बजार हरियो भए पनि स्ट्यान्डर्ड चार्टड बैंकबाहेक अरु बैंकहरुको मूल्य खासै बढेको छैन र घटेको छैन । तर विस्तारै बैंकमा पनि उछाल आउने संकेत कारोबारले दिएको छ । स्ट्यान्डर्ड चार्टड बैंक एकैदिन दसप्रतिशतले मूल्य बढेको छ । ३२० बढेर ३५२० पुगेको छ भने कारोबार पनि उच्च दरमा भएको छ । थोरै पुँजी भएकोले पुँजी बढाउन आकर्षक बोनस तथा हकप्रद आउने आसमा ठूला लगानीकर्ताहरु पनि यसमा आकर्षित देखिएका छन् । कारोबारमा नेपाल इनभेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले आफ्नो राजलाई कायम राखेका छन् ।

कम्पनीहरुले आकर्षक नाफा कमाएको रिपोर्ट निकालिरहेको अवस्थामा बजारको उल्टो गतिलाई लगानीकर्ता र विज्ञहरुले आश्चर्यजनक र अस्वभाविक भनेका थिए । अनेक हल्ला र भ्रम फिजाएर बजार घटाउने र सस्तो भाउमा राम्रा कम्पनीको सेयर बुक गरेर बोनस कुम्ल्याउने दाउ वा चलखेलका कारण साना तथा मध्यम लगानीकर्ताहरु निकै हैरान भएका थिए ।

तर पनि लगानीकर्ताहरुले आत्मविश्वास गुमाएका थिएनन् । लगानीकर्ताको त्यही आत्मविश्वास र धैर्यताका कारण बजार फेरि हरियो लिक दौडिने संभावना बढेको छ । अबको बुल २५ सय अंकभन्दा तल नहुने विश्लेषण पुँजी बजारका विज्ञहरुले गरेका छन् ।

प्रकाशित : ८ भाद्र २०७३, बुधबार १३:५०