माथिल्लो तामाकोसीको बाँध भूकम्पअघि नै भासिएको खुलासा, लापरबाही लुकाउने प्रयास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माथिल्लो तामाकोसीको बाँध भूकम्पअघि नै भासिएको खुलासा, लापरबाही लुकाउने प्रयास



दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भूकम्पअघि नै भासिएको रहस्य खुल्न आएको छ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको बाँध भूकम्प जानुभन्दा ५ महिनाअघि मंसिरमा नै ४ इन्च भासिएको खुलेको हो । आयोजना व्यवस्थापनले आफ्नो लापरबाही लुकाउन ‘आयोजनाको बाँध गत वैशाख १२ र १३ को भूकम्पले १७ इन्च भासिएको’ प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आयोजना प्रमुख, बाँधस्थल, परामर्शदातालगायतका अन्य प्राविधिकहरु राजधानीमा बसेर फाट्टफुट्ट सतही अनुगमन गर्दा ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको बाँध भासिएको हो । पश्चिमपट्टीको ६ ओटा गेट राख्ने बाध भासिँदा डेढ इन्चको छिद्र बनेको छ भने गेट राख्ने चौकोस बाँगिएर हाइड्रोमेकानिकल ठेकेदारलाई समेत काम गर्न चरम समस्या परेको थियो ।

बाँधका इन्चार्जलगायतका ५ कर्मचारीको जागिर जोगाउन आयोजना व्यवस्थापनले सो तथ्य लुकाएको बुझिएको छ । आयोजनाको मुख्य ठेकेदार सिनो हाइड्रोमार्फत् भासिएको बाँधमा ‘ट्रिटमेन्ट’ गराउन परामर्शदाताले ‘डिटेल इस्टिमेट’समेत गरिसकेको थियो । खोलामा बालुवाको मात्र अत्यधिक रहेकोमा जग नखनिकन ‘ग्राउन्डिङ’ प्रविधिबाट बाँधको निर्माण गरिएकोले भासिएको हुन सक्ने केही कर्मचारीको अनुमान रहेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले वैशाखको भूकम्पअघि बाँध केही भासिएको स्वीकार गरेका छन् । उनले २०७१ पौष ४ गते गएको भूकम्पले बाँध भासिएको नयाँ दाबी गरेका छन् ।

२२ मिटर लम्बाई र ६० मिटर चौडाईको बाँध खोला फर्काएर दुई चरणमा निर्माण गरिएको थियो । बाँधको काम करिब ८२ प्रतिशत सम्पन्न भएको आयोजनाले बताएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७२, बिहीबार ०३:०९