युनाइटेड मोदीको साढे ११ लाख कित्ता आईपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइटेड मोदीको साढे ११ लाख कित्ता आईपीओ निष्काशन गर्ने



IPOs1काठमाडौं १७ भदौ । युनाइटेड मोदी हाइड्रोपावर  लिमिटेडले आगामी भदौ २६ बाट साधारण शेयर  निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
कम्पनीको शेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । आवेदन फाराम युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कुश्मा, देवः विकास बैंकको कार्यालय कुश्मा र फलेबास पर्वतमा मात्रै पाइने कम्पनीले जनाएको छ ।

शेयर आवेदन भदौ २६ गतेबाट छिटोमा असोज ९ र ढिलोमा असोज ३० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ३ रेटिङ प्रदान गरेको छ । समग्र अवस्थाको आधारमा प्रदान गरिने यो रेटिङले कम्पनीको आधारभूत पक्ष औसत रहेको सङ्केत गर्छ ।

युनाइटेड मोदीले सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता (२८ करोड रुपैयाँभन्दा बढीको) शेयर जारी गर्न लागेकोमा अहिले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयर मात्र निष्काशन गरेको हो ।

९ दशमलव ९ मेगावाटको लोअर मोदी–१ सञ्चालन गरिरहेको कम्पनीले १० दशमलव ५ मेगावाटको लोअर मोदी–२ निर्माण गर्ने भएको छ । कास्केड प्रोजेक्टको रूपमा रहने यो आयोजनाको निर्माण लागत १ अर्ब ७७ करोड रहने अनुमान गरिएको छ । यो लागतमा निर्माण सम्पन्न भएको यसको आयोजनाको प्रतिमेगावाट विद्युत् उत्पादन लागत १६ करोड ९० लाख रुपैयाँ पर्ने देखिन्छ ।

प्रकाशित : १७ भाद्र २०७३, शुक्रबार ०६:१३