६ कम्पनीको ६० करोडको आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ कम्पनीको ६० करोडको आइपीओ आउँदै



IPOs1काठमाडाै २२ भदाै ।  हातमा पैसा भएर पनि सेयरमा लगानी गर्न पाउनुभएको छैन भने चिन्ता नगर्नुहोस्, निकट भविष्यमै ५ जलविद्युत कम्पनी र एक माइक्रो फाइनान्सले ६० करोड भन्दा बढी मूल्यको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछन् । यी ६ कम्पनीको आइपीओ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा विचाराधीन अवस्थामा रहेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार ५ जलविद्युत कम्पनी र १ माइक्रो फाइनान्सले आइपीओका लागि निवेदन दिएका हुन् । यीमध्ये केहीको असोजभित्र आउने संभावना छ भने केहीको केही ढिला हुनेछ ।  बोर्डका अनुसार १ सय रुपैयाँ अंकित मूल्यका आइपीओका लागि अरुण काबेली पावर लिमीटेड,  आँखुखोला जलविद्युत कम्पनी लिमीटेड, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, छ्याङ्दी हाइड्रोपावर र समता माइक्रो फाइनान्सले दिएको आवेदन विचाराधीन अवस्थामा रहेको हो । यीमध्ये छ्याङ्दी र समता माइक्रो फाइनान्सले चाहि हालसालै मात्र आवेदन दिएका हुन्, अन्य कम्पनीको आइपीओको आवेदन निकै अगाडि बढिसकेको छ ।

२५ मेगावाट क्षमताको अरुण काबेली पावर लिमीटेडले ३० लाख कित्ता आइपीओ सर्वसाधारण र अरुण काबेलीका कर्मचारीका लागि जारी गर्नेछ । सिद्धार्थ क्यापिटल लिमीटेडले यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । यो कम्पनीको आइपीओ दशैंअगाडिसम्म आइसक्ने  बताएको छ ।

हालै, अरुण काबेलीले १५ करोड मूल्यको १५ लाख कित्ता सेयरको प्राथमिक निश्कासन आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गरेको थियो । ताप्लेजुङ र पाँचथरका केही गाविसका आयोजना प्रभावितहरु यो आइपीओबाट लाभान्वित भएका थिए । यसैगरी, ८.४ मेगावाटको आँखुखोला जलविद्युत कम्पनी लिमीटेड पनि निकट भविष्यमै ८ करोड आइपीओ जारी गर्दैछ । तर, यसको आइपीओ चाहि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्र हो । सिभिल क्यापिटल मार्केट लिमीटेड यसको आइपीओको बिक्री प्रबन्धक रहेको छ ।

धितोपत्र बोर्डमा विचराधानी अवस्थामा रहेको आइपीओको स्वीकृति आएलगत्तै सर्वसाधारणमा जारी हुने बताइएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गरेपछि दोश्रो चरणमा सर्वसाधारणका लागि समेत यो कम्पनीले ठूलै मात्रामा आइपीओ जारी गर्नेछ । यो आयोजना धादिङमा अवस्थित छ ।

यस्तै, हिमालयन पावर पार्टनर लिमीटेडले पनि १० करोड ६५ लाख मूल्यको आइपीओ जारी गर्न लागेको छ । यो कम्पनीले पनि यो आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि हो । यसको आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीको आइपीओका लागि धितोपत्रबाट प्रतिक्रिया आइसकेको र अन्तिम स्वीकृति लगत्तै आइपीओको निश्कासनको प्रक्रिया सुरु हुने ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ।

यो कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ जारी गरेपछि दोश्रो चरणमा सर्वसाधारणका लागि समेत जारी गर्नेछ । हिमालयन पावर पार्टनर लिमीटेड २०६१ सालमा स्थापना भई जलविद्युतको क्षेत्रमा क्रियाशील कम्पनी हो । यो कम्पनी एनआरएनको लगानी भित्रिएपछि सन् २०१३ मा पब्लिक लिमीटेड कम्पनीको रुपान्तरण भएको थियो । यो कम्पनीले लमजुङमा अवस्थित २७ मेगावाटको दोर्दी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

उता, नेपाल हाइड्रो डेभलपर लिमीटेडले समेत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ करोड ६० लाख मूल्यको आइपीओ जारी गर्न लागेको छ । एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति आउन बाँकी रहेका कारण संभवत दशैंअघि नै आवेदन गरिएको आइपीओ निश्कासनको काम सुरु हुनसक्नेछ ।

दोलखामा अवस्थित नेपाल हाइड्रो डेभलपर लिमीटेडले चर्नावती खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्टबाट हाल ३.५२ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । यो कम्पनीले लामो समयदेखि जलविद्युतको विकासको क्षेत्रमा काम गरिरहेको छ ।

यसैगरी, छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निकट भविष्यमै ८ करोड १० लाख मूल्यको ८ लाख १० हजार कित्ता सेयरको प्राथमिक निश्कासन गर्दैछ । हालै यो कम्पनीले आइपीओ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो कम्पनीको आइपीओको निश्कासन र व्यवस्थापनमा ग्लोबल आइमएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । सन् २००७ मा स्थापना भएको यो कम्पनीले लमजुङ जिल्लामा २ मेगावाटको छण्डी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यसैबीच, जलविद्युत कम्पनीहरुको बीचमा समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले पनि आइपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले ११ करोड ५० लाख मूल्यको ११ लाख ५० हजार कित्ता सेयरको प्राथमिक निश्कासनको स्वीकृतिको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । सर्वसाधारणका लागि जारी गर्न लागिएको आइपीओको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । यो कम्पनीले भदौ ५ गते बोर्डमा निवेदन दिएको हो । यो माइक्रो फाइनान्स बाराको सिमरामा अवस्थित कम्पनी हो ।

प्रकाशित : २२ भाद्र २०७३, बुधबार ०३:१२