आजदेखि नवील म्युचुअल फण्डमा लगानीको अवसर, कहाँ दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजदेखि नवील म्युचुअल फण्डमा लगानीको अवसर, कहाँ दिने आवेदन ?



mutualfunds_1काठमाडाै  २, असोज ।  नवील इक्वीटी फण्डले १ अर्ब मूल्यको १० करोड युनिट सेयरमा सर्वसाधारणका लागि लगानीको अवसर  सार्वजनिक गरेको छ । यो सार्वजनिक निश्कासन आगामी असोज २ गतेदेखि हुने फण्डले बिहीबार एक आह्वानपत्र सार्वजनिक गर्दै जनाएको छ ।

नवील इक्वीटी फण्ड सातवर्षे बन्दमुखी(क्लोज इण्ड)म्यूचुअल फण्डको स्कीम हो । यो म्युचुअल फण्डको स्कीम नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले व्यवस्थापन गर्नेछ ।

सार्वजनिक निश्कासनको यो अफर पहिलो चरणमा असोज ६ गते र त्यो अवधिमा पनि माग अनुसार आवेदन नपरे असोज १६ गतेसम्ममा सहभागी हुन पाइन्छ ।

इच्छुक सर्वसाधारणले प्रति इकाई १० रुपैयाँ मूल्यको यो स्कीममा न्यूनतम १ सयदेखि अधिकतम १ करोड इकाई संख्याका लागि आवेदन दिन सकिनेछ ।

कुल निश्कासन हुने १० करोड इकाई अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धक नबील बैंक लिमीटेडका लागि १४ प्रतिशत(१ करोड ४० लाख) इकाई, तथा योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडलाई १ प्रतिशत वा दशलाख इकाई सुरक्षित राखी बाँकी आठ करोड पचास लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको सूचनामा उल्लेख छ ।

नवील बैंकले यसअघि समेत म्युचुअल फण्ड संचालन गरेको थियो । यो बैंकको पहिलो म्युचुअल फण्ड नबील ब्यालेन्स फण्ड १ नेप्सेमा सूचिकृत रहेको छ । यसको अन्तिम प्रति इकाई कारोबार मूल्य २५ रुपैयाँ रहेको छ । नबील ब्यालेन्स फण्ड १ को नेट एसेट भ्यालू रु. २८.२२ रहेको छ, यो भ्यालू साउन अन्तिमसम्मको कारोबारको हिसाबमा निकालिएको हो ।

हाल नेपाल स्टक एक्सचेञ्जमा ७ वटा म्युचुअल फण्डहरु सूचिकृत छन् । तिनीहरु ५० करोडको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १,  १ सय करोडको सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, ५० करोडको लक्ष्मी भ्यालु फण्ड १, ७५ करोडको नवील ब्यालेन्स फण्ड १, १ सय करोडको एनआइबीएल समृद्धि फण्ड १, ७५ करोडको एनएमबी सुलभ फण्ड १ र ८० करोडको ग्लोबल आइएमई समुन्नति स्कीम १ रहेका छन् ।

बैंक तथा बित्तीय संस्थामा लामो टर्ममा पैसा राख्दा जति ब्याज पाइन्छ, त्यस्ता बचतकर्ताले म्युचुअल फण्डमा लगानी गर्दा बढी नाफा प्राप्त गर्छन ।

यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ ।

म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ । नेपालमा पनि ७ वटा म्युचुअल फण्ड(सामूहिक लगानी कोष) रहे पनि एनएमबी बैंकले समेत केही समयअघि अर्को म्युचुअल फण्डको स्कीम सार्वजनिक गरेको छ । नवीलले पनि अर्को ल्याउने भएपछि अब यो संख्या बढेर ९ पुग्ने भएको छ ।

पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ ।

कहाँ दिने आवेदन ?

१)नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड, नक्साल, काठमाण्डौ । सम्पर्क व्यक्ति : राजीव गुप्ता । फोन :०१-४४११६०४

२)नवील बैंक लिमीटेडका काठमाण्डौस्थित महाराजगञ्ज, बालाजु, सिनामंगल, सातदोबाटो र कौशलटार । तथा, उपत्यका बाहिरका नवीलका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : सिद्धान्त ठकुरी । फोन :०१४२२७१८१

प्रकाशित : २ आश्विन २०७३, आईतवार ०२:५०