चिन्नुस उपभोक्ता ठग्ने १० कम्पनी, सरकारले चलाउदै छ मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिन्नुस उपभोक्ता ठग्ने १० कम्पनी, सरकारले चलाउदै छ मुद्दा



काठमाडौ  ४ असोज । सरकारले उपभोक्ता ठगीमा दोषी पाइएका विभिन्न १० कम्पनीहरूविरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ । म्याद नाघेका, लेबलिङ नभएका, परल मुल्यभन्दा बढि मुल्य राखिएका उपभोग्य वस्तु बेचेर उपभोक्ता ठगेका कारण ती कम्पनीहरूलाई कारवाही मुद्दा अघि बढाइएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध समितिले ती कम्पनीविरुद्व सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले साउन ३१ देखि भदौ १५ सम्म गरेको विशेष अनुगमनका क्रममा दोषी देखिएका यी कम्पनीविरुद्व मुद्दा दायर गरिन लागेको हो । मुद्दा दायरको प्रक्रिया अघि बढाइएका कम्पनीहरूमा चुच्चेपाटीको भाटभटेनी फूड प्रोडक्ट, कालोपुलको मेघा मार्ट प्रालि, सातदोबाटोको सेलवेज क्यास एण्ड क्यास प्रालि छन् ।

नयाँ बजारको अर्गानिक किचन मार्ट र रामेको कन्भिनियन्ट स्टोर, महाराजगञ्जको फेसन फ्लो प्रालि र तीनथानाको सिद्धिविनायक खाद्य स्टोरमाथि पनि मुद्दा दायर गर्ने प्रक्रिया विभागले अघि बढाएको छ ।

त्यस्तै, पछिल्लो समय काठमाडौंका विभिन्न स्थानका बिटीमार्ट प्रालि, क्लासिक माई र तिमिल्सिना खाद्य स्टोरमाथि पनि कारवाहीका लागि विभागले प्रक्रिया अघि बढाएको छ ।
सरकारले सातवटा कम्पनीलाई यसअघि नै मुद्दा दायरको प्रक्रिया अगाडि बढाएकोमा थप तीन कम्पनी केही दिनअघि मात्र थपेको हो ।

‘यी दशैवटा कम्पनी विरुद्ध मुद्दा दायर गर्नका लागि परामर्श गरिरहेका छौं,’ विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने । कानूनी राय र मुद्दा दायरको प्रक्रिया अघि बढाउन फाइल आपूर्ति मन्त्रालयमा पठाएको बताउँदै विभागका निर्देशक श्रेष्ठले भने, ‘मन्त्रालयबाट स्वीकृत भएर आएपछि सरकारी वकिलको निर्णय लिएर अघि बढ्छौं ।’

सरकारले संयुक्त बजार अनुगमनका क्रममा उपत्यकाका ४ सय ७ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कैफियत भेटिएका ४६ फर्मलाई विभागले त्यसैबेला शिलबन्दी गरेको थियो ।

उपभोक्ता ठगी गर्नेलाई कुनै पनि हालतमा नछाडिने विभागको अठोट छ ।

प्रकाशित : ४ आश्विन २०७३, मंगलवार १४:४८