बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास भयोः नाडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास भयोः नाडा



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बतास समूहमाथी आएका समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित नभएको जनाएको छ । नाडाले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

नेपालको अटोमोवाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नाडाले भनेको छ– सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।

नाडाले आफनो स्थापनाकालदेखि नै कानूनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउदै आएको सन्दर्भमा कानूनसम्मत व्यवसाय गर्दे आएको व्यवसायीमाथी कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सवैको ध्यानाकर्षण भएको नाडाले जनाएको छ ।

‘प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई यस एशोसिएशनले अन्यथा लिने प्रश्न नै आउदैन, कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनु पर्छ र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र कानूनको सामान्य सिद्धान्तले पनि यहि भन्छ । समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २ माघ २०७८, आईतवार १६:२१