लघुवित्तको मुल्यमा गभर्नरको प्रश्नः शेयर मुल्य किन ३५ सय माथी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लघुवित्तको मुल्यमा गभर्नरको प्रश्नः शेयर मुल्य किन ३५ सय माथी ?



Dr_Chiranjibi_Nepalकाठमाडौं, ६ असोज। गभर्नर डा. चिरञ्जीवि नेपालले लघुवित्तको मुल्य अप्रत्याशित भएको भन्दै फेरी पनि प्रश्न उठाएका छन् । ‘८ अर्ब चुक्ता पुँजी पुग्न लागेका वाणिज्य बैंकहरुको शेयर मुल्य ४ सयदेखि १ हजार हाराहारीमा छ, तर एक जिल्ले लघुवित्त कम्पनीको समेत ३/४ हजारसम्म मुल्य पुग्छ, यो त अन्तराष्ट्रिय स्तरमै हाँसोको विषय भएको छ,’ गभर्नर नेपालले भने । उनले यसबारेमा धितोपत्र बोर्डसंग छलफल गरिने समेत स्पष्ट पारे । विहीवार काठमाडौंमा आयोजित नेपाल लघुवित्त बैंकर्स संघको दशौं बार्षिक साधारण सभामा यस्तो बताएका हुन् ।

उनले लघुवित्तको लागि हालै तोकिएको ७ प्रतिशत स्प्रेड दर अझै कम भएकोले यसमा पुनरमुल्यांकन नहुने पनि स्पष्ट पारेका छन् । ‘यही दर पनि कम तोकेका छौं, वाणिज्य बैंकको स्प्रेड दर ५ प्रतिशत हुँदा समेत यसलाई घटाउँनु पर्ने लागिरहेको छ,’ गभर्नर नेपालले बताए । लघुवित्त कम्पनीहरुले सञ्चालन खर्चभन्दा अधिकत्तम ७ प्रतिशत बढि मात्र कर्जाको व्याज दर लिन पाउँने राष्ट्र बैंकले व्यवस्था गरे गरेपनि लागु गर्न बाँकी छ । सञ्चालन खर्चमा के के शिर्षक समावेश गर्न पाउने भन्ने ढाँचा बनाउन पनि राष्ट्र बैंकले गृहकार्य गरिरहेको छ ।

उनले इम्यापिङ गरेर हेर्दा लघुवित्तको कम उपस्थिती भएको क्षेत्र मुगु, कालिकोट लगायतमा नयाँ लघुवित्त संस्था सञ्चालन गर्ने अनुमती दिइएको भएपनि त्यहा कोही नगएको बताउँदै अन्य स्थानको लागि भने नयाँ संस्था दर्ता हुन नदिने स्पष्ट पारेका छन् ।

यता लघुवित्त कम्पनीहरुले भने ७ प्रतिशत स्प्रेड दर बढि भएको भन्दै घटाउन राष्ट्र बैंकलाई आग्रह गर्दै आएका छन् । शाखा खोल्ने अनुमती लिननपर्ने व्यवस्था अन्य बैंक तथा वित्तीय संस्थालाई मात्र भएको सुनिएकोले यो व्यवस्थामा लघुवित्तलाई पनि सरिक हुने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । लघु उद्यम कर्जा प्रवाह गर्दा धितोको ४० प्रतिशत दिन पाउँने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । त्यस्तै, २० प्रतिशतभन्दा बढि लाभांश बाढ्न परेमा थप २५ प्रतिशत रकम ग्राहक संरक्षणमा राख्नु पर्ने व्यवस्थालाई सहज बनाएर यो सीमालाई १ प्रतिशतमा झार्न पनि अनुरोध गरेका छन् । संस्थाहरुले अनिवार्य रुपमा नाफाको १ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नु पर्ने व्यवस्था पनि रहेको छ ।

हाल लघुवित्तको संख्या ७५ पुगेको छ भने कुल शाखा १ हजार ३ सय ४६ रहेको छ । त्यस्तै, १८ लाख ८० हजार ६ सय ९६ सदस्यहरुले संस्था मार्फत् कारोबार गरिरहेका छन् । यी संस्थामा सदस्यहरुको २४ अर्ब बचत रहेको छ भने सदस्यहरुले ५७ अर्ब कर्जा सुविधा लिएका छन् ।

प्रकाशित : ६ आश्विन २०७३, बिहीबार १४:४६