कस्ता सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कस्ता सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली



काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबारको बैठकले काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जोर गते अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गते अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

प्राप्त सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।

यसैगरी निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए । यसका अलावा जोर दिनमा जोर नम्बर प्लेट भएका र बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारी साधान सञ्चालन गर्न पाइने जनाइएको छ । उक्त आदेश आज राति १२ बजेदेखि लागू हुँदैछ ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार १७:२१