‘गोफन्ड’ अभियानको रकम पारदर्शी रहेको एनआरएन अमेरिकाको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

‘गोफन्ड’ अभियानको रकम पारदर्शी रहेको एनआरएन अमेरिकाको दाबी



अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संचालन गरिरहेको ‘गोफन्ड’ अभियानको रकम पारदर्शी रहेको जनाइएको छ ।

न्यूयोर्कमा भएको कार्यक्रममा विपिन लम्सालको निधन पश्चात् गोफण्ड मार्फत संकलित रकमका विषयमा प्रश्न उठेपछि एनआरएन अमेरिकाका महासचिव अन्जन कुमार चौलागाईले एक विज्ञप्तिमार्फत गोफन्डको रकम पारदर्शी रहेको जनाएका हुन् । गोफन्ड मार्फत संकलित रकम रकम हिनामिना भएको भन्ने दावी बारे प्रतिक्रिया जनाउदै अध्यक्ष बुद्धि सागर सुवेदीले संस्थाका गतिविधिहरुबारे चासो दिनु स्वभाविक भए पनि उत्तेजक र आपत्तिजनक क्रियाकलाप गरिएको प्रति आपत्ति प्रकट गरेका छन् ।

‘जुलाई २७–२०२१ मा विपिन लम्सालको असामयिक निधन भएको थाहा पाउनासाथ न्यूयोर्कमा रहेका साथीहरूलाई कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी सरसल्लाह गरियो । उहाँको बुवा पोषराज लम्सालसँग सम्पर्क गरी अमेरिकामा नै दाहसंस्कार गर्ने वा नेपाल लैजाने भन्दा नेपालमा नै पठाइदिन स्वर्गीय लम्सालका बुवाको आग्रह रह्यो । नेपालमा ७० वर्षको बुवा भएको हुँदा नेपाल शव पठाउन गोफण्डमा रकम उठाउने निर्णय गरियो । गोफण्डमा जम्मा १८,३६८ डलर उठेकोमा गोफण्डको सर्भिस फि ६२१ डलर ,नेपाल शव पठाउन ६,५५२ र पर्वत सम्म जानको लागि २३० डलर खर्च भएको थियो,’विज्ञप्तिमा भनिएको छ ।

‘बाँकी रहेको रकममा शव नेपाल पठाइसके पश्चात् सँगै बस्ने एक महिलाले म मृतकको श्रीमती हो भनी प्रमाण सहित हक दाबी गरे पश्चात् रकम नेपाल पठाउने वा उनलाई दिने विषय केही समय अन्यौलमा पर्‍यो । निज महिलाले स्वर्गीय विपिन लम्सालसँग विवाह गरेको कुरालाई नेपाली समाजका केही प्रतिष्ठित व्यक्तिहरूले समेत स्वीकार गर्नुभयो । लस एन्जलसस्थित पशुपतिनाथ मन्दिरमा विधि पूर्वक विवाह गरेको फोटो, भिडियो र डकुमेन्ट गैर आवासीय नेपाली सङ्घ अमेरिकामा महिलाले पठाइन ,’ विज्ञप्तिमा अगाडि भनिएको छ।

नातामा श्रीमती देखिए पश्चात् चार हजार डलर दिए हुन्छ भनी माग भए बमोजिम पदाधिकारीको बैठक बसेर निर्णय गरी अमेरिकामा श्रीमतीलाई चार हजार डलर दिएर बाँकी रहेको रकम परिवारको अनुरोध बमोजिम नजिकको नातेदारलाई ६,९६५ डलर हस्तान्तरण गरिसकिएको छ । अमेरिकामा मृतकको श्रीमतीलाई दिएको चार हजार डलर समेत पदाधिकारीबाट उठाइ नेपालमा रहेका वृद्ध बुवा आमालाई दिने भनी उठाइरहेको र हालसम्म दुई हजार पाँच सय डलर उठाइ पनि सकिएको छ । बाँकी उठाएको रकम चार हजार डलर पुराएर चाँडो भन्दा चाँडो नेपाल पठाउने योजना रहेको छ ।’

एनआरएनले संकलन गरेको रकम सम्बन्धित व्यक्तिसम्म पारदर्शी ढंगमा प्रदान गरिएको र पूर्ण विवरण कोषाध्यक्ष राजीव श्रेष्ठले गत जनवरी २९ तारिखको बैठकमा पेश गर्नुभएको रिपोर्टमा समेत समावेश गरिसकिएको जनाइएको छ । संस्थामा हुने हरेक आर्थिक क्रियाकलाप पारदर्शी हुनुपर्नेमा एनआरएनए एनसीसी अमेरिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार १०:५१