राष्ट्र ऋण उठाउनेसम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित भए मुलुकमा वित्तीय अराजकता अाउछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र ऋण उठाउनेसम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित भए मुलुकमा वित्तीय अराजकता अाउछ



ramsaran-mahat.jpg1काठमाडौं  १३ असोज । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेको राष्ट्र ऋण उठाउनेसम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित भए मुलुकमा वित्तीय अराजकता निम्तिने बताएका छन् ।

कांग्रेस प्रतिपक्षमा हुँदा माओवादीसँग मिलेर फेल गराएका बजेटसँग सम्बन्धित आश्रति विधेयकहरु अर्थमन्त्री कृष्णबहादुर महराले बिहीबार संसदमा जस्ताको त्यस्तै पेस गरेका थिए । एमालेको सरकारले संसदमा पेस गरेको विधेयक जस्ताको त्यस्तै पेश गरेपछि एमाले सांसदहरुले पहिला चाहीँ किन फेल गराएको भनेर प्रश्न गरेका थिए । पहिला फेल गराउनमा डा. महत पनि लागेको भन्दै एमाले सांसदहरुले उनको आलोचना गरेका थिए ।

अर्थमन्त्री महराले बोलिसकेपछि डा. महतले संसदमा बोलेका थिए । कांग्रेसले त्यसबेला पनि विनियोजन विधेयक पारित भइसकेको अवस्थामा आर्थिक विधेयक पास हुन दिनुहुन्न भन्ने पक्षमा नभएको उनले जीकीर गरे । तर, राष्ट्र ऋण उठाउने विधेयकका सवालमा हिँजो पनि हसहमति भएको र आज पनि असहमति नै रहेको उनको भनाई छ ।

‘मैले त्यसबेलै पनि भनेको थिएँ राष्ट्र ऋण उठाउने यो विधेयक जस्ताको त्यस्तै पारित भयो भने मुलुकमा वित्तीय अराजकता निम्तिन्छ भनेर,’ महतले भने, ‘र, अहिले पनि भन्छु, यो विधेयक जस्ताको त्यस्तै पारित भयो भने मुलुकमा वित्तीय अराजकता निम्तिन्छ ।’

आफुले अहिलका अर्थमन्त्री महरालाई राष्ट्र ऋणको मात्रा घटाउन सुझाव दिएको तर महराले एमालेले नमानेका कारण घटाउन नसकिएको जवाफ दिएको उनले जानकारी दिए ।

‘अहिले जुन परिणामा राष्ट्र ऋण उठाउने भनिएको छ, त्यो मुलुकको आवश्यकता हुँदै होइन,’ उनले प्रश्न गरे, ‘गत वर्ष खर्च नभएर बचेको डेढ खर्ब र राजस्वबाट उठ्ने रकम नै सरकारका लागि पर्याप्त भएको छ । पर्याप्त पैसा हुँदा हुँदै किन यतिधेरै ऋण उठाएर जनतालाई ऋणको भार थोपार्ने ?’

यसरी ऋण उठाइएको रकम अनुत्पादक क्षेत्रका खर्च हुने भएकाले त्यसले वित्तीय अराजकता मित्याउने उनको भनाई थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा १ खर्ब ११ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो ।

अर्थमन्त्री महराले सरकारले यसअघिको सरकारले पेस गरेका बजेटसँग आश्रति विधेयकहरु जस्ताको त्यस्तै पेस गरेको बताए । एउटै अधिवेसनमा एउटै विधेयक दुईपटक पेस गर्न नपाइने संसदको नियमावली बहुमतले निलम्बन गरी सरकारले बुधबार विधेयकहरु पेस गरेको हो ।

आर्थिक विधेयकमा उल्लेख भएको करको दर हटाउन र थप्न पनि नसकिने अवस्था भएकाले आफुले जस्ताको त्यस्तै पेस गरेको महराले प्रष्ट पारे । सरकारले विधेयकहरु संसदमा पेस गरिसकेको अव संसदले नै निर्णय गर्ने उनले बताए ।

‘गत जेठ १५ मा बजेट आयो सोहि दिनदेखि नै नयाँ दरमा राजस्व उठाउन थाल्यौं,’ उनले भने, ‘अब करका दरहरु कम गर्दा उठाएको राजस्व पनि फिर्ता गर्नुपर्ने हुन्छ । अर्कातिर करका दरहरु थप्ने अवस्था पनि छैन । त्यसैले जस्ताको त्यस्तै पेस गरेको हुँ ।’

सांसदहरुले आर्थिक विधेयकसँग सम्बनिधत खासै प्रश्नहरु नगरेकाले आफुले योभन्दा बढी जवाफ दिइरहनु पर्ने आवश्यकता नठानेको महराले बताए ।

प्रकाशित : १३ आश्विन २०७३, बिहीबार १५:२५