कहा खर्च हुन्छ रेमिट्यान्स ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

कहा खर्च हुन्छ रेमिट्यान्स ?



money काठमाडौं  १८ असोज । विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले हालै मात्र गरेको अध्ययनले यस्तो देखाएको हो । यसअघिका अध्ययनहरूले रेमिट्यान्सको ज्यादै ठूलो हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको भनेका थिए ।

गत वर्ष सार्वजनिक भएको तेस्रो घरपरिवार सर्वेक्षण (नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भे) ले पनि विप्रेषणको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको थियो । नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न र २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।
खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार अध्ययन क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको बताएका थिए ।

सरकारले गत महिना जारी गरेको आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कुल गार्हस्थ बचतको अंश ५ दशमलव ३ प्रतिशत रहेको बताएको छ । तर जीडीपीमा कुल राष्ट्रिय बचतको अंश ४२ दशमलव ९ प्रतिशत रहेको देखाएको छ ।

रेमिट्यान्सबाट प्राप्त रकम उपभोगमा खर्च भएर बचेकाले राष्ट्रिय बचतको अनुपात उच्च देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बताउँछन् । ‘यसबाट विप्रेषणले राष्ट्रिय बचत बढाउनमा ठूलो सहयोग गरेको देखिन्छ,’ उनले भने।

प्रकाशित : १९ आश्विन २०७३, बुधबार ०१:४१