नौ दिन पछि खुलेको बजारले उत्साह देखाएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नौ दिन पछि खुलेको बजारले उत्साह देखाएन



काठमाडौँ  ३० असोज । सेयर बजारका सबै सूचक ओरालो लागेका छन्। नौ दिन पछि खुलेको बजारले उत्साह देखाउन नसकेको हो।

खुलेपछि दुई घण्टासम्म लगातार घटेको बजार बाँकी दुई घण्टा स्थिर देखियो। कारोबार रकमले समेत लगानीकर्तमा दशैं मुड कायमै भएको देखाएको छ।

पछिल्लो समय अर्ब हाराहारीको सेयर किनबेच भइ रहेको बजारमा आइतबार ६० करोड रुपैयाँको मात्र कारोबार भएको हो। १२२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो।

समग्र नेप्से परिसूचक १६।१४ अंकले घटेर १८०३।७४ अंकमा आएको छ। सबैभन्दा धेरै होटल उपसूचक झन्डै तीन प्रतिशतले घटेको छ।

बजारका सबै सूचक राताम्ये भएपनि ज्योती विकास बैंकका लगानीकर्ताले आइतबार झन्डै १० प्रतिशत मुनाफा कमाएका छन्। कामना विकास बैंकका सेयरधनीले पनि सात प्रतिशत भन्दा धेरै लाभ गरेका छन्।

सर्वाधिक गुमाउनेमा भने पुर्णिमा विकास बैंकका लगानीकर्ता रहे। यो बैंकको सेयर मूल्य चार प्रतिशत भन्दा धेरैले घटेको हो।

प्रकाशित : ३० आश्विन २०७३, आईतवार ११:१२