एकाईसौं शताव्दीमा डाटा र प्रविधि कति प्रभावकारी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एकाईसौं शताव्दीमा डाटा र प्रविधि कति प्रभावकारी ?



जर्मन ईन्जिनियर तथा अर्थशास्त्री ल्काउस मार्टिन स्वावले सन् २०१६ मा स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक सम्मेलनमा चौथो औद्योगिक क्रान्ति आरम्भ भएको उल्लेख गरे । उनले अहिलेको चौथो औद्योगिक क्रान्ति विगतका सवै औद्योगिक क्रान्ति भन्दा आधारभुत रुपले भिन्न हुने बताए । उनले यस क्रान्तिले नयाँ प्रविधीहरुद्घारा भौतिक, डिजिटल र जैविक विश्वलाई फ्यूजन गरि अर्थतन्त्र तथा उद्योगको क्षेत्रमा मात्र होईन मानवजाती सर्वश्रेष्ठ हो भन्ने तथ्यलाई नै चुनौती दिन सक्ने बताए ।

सन् २०११ मा अमेरिकाको म्यासाच्युसेट ईन्स्टीच्यूट अफ टेक्नोलाजीका एरिक एरिक ब्राएनलोल्फसन र एन्ड्यिू म्याक्याफिको प्रकाशित पुस्तक ‘दोस्रो मेसिन युग’ मा यो युुग धेरै संज्ञानात्मक कार्यहरुको स्वचालनमा संलग्न द्वन्द, जस ले गर्दा मानिस र सफ्टवेयर संचालित मेसिनले एक अर्काको पुरकको रुपमा नभई एकले अर्कालाई विस्थापन गर्नेछ भन्ने औंल्याए । किनभने सफ्टवेयरले मानिसले भन्दा वस्तुगत रुपले लगातार र छिटो गतिविधिको मुल्याँकन गर्ने र मानिसको संलग्नता विना नै अल्गारिद्मले कर्पोरेटहरुको आय लगायत अनेकौं विषय र क्षेत्रमा पुर्वानुमान गर्छ ।

सन् १९५० बाट कम्प्युटरको विकास पछि दोस्रो मेसिनयुगको आरम्भ भयो । अहिले कम्प्युटर हार्डवेयर, सफ्टवेयर र संजालहरु डिजिटल प्रविधिको अंग बनेकोछ । समाज र अर्थतन्त्रका लागी यो अठारौं शताव्दीको वास्पईन्जिन जस्तै महत्वपूर्ण र रुपान्तरकारी छ । सन् १९६० मा अमेरिकी रक्षा विभागले विकास गरेको ईन्टरनेट कम्प्युटर संजाललाई जोड्ने विश्व प्रणाली बनेकोछ । ईन्टरनेटले शुरु देखि अन्तसम्म अर्थात सर्वर देखि ग्राहक र ग्राहकदेखि सर्वर सम्म वा ग्राहक देखि ग्राहक सम्म डाटा सूचना प्रवाह गर्छ । यसलाई सूचना वाहन वा महामार्ग पनि भनिन्छ ।

दोस्रो मेसिनयुग उत्कर्षतिर

सन् १९८९ मा एक ब्रिटिस कम्प्युटर वैज्ञानिक टिम बर्नर्सलिले विश्वव्यापी संजालको अवधारणा अघि सारे । सन् १९९० को दशकको अन्तदेखि ईन्टरनेटको तिब्र प्रयोग संगै कम्प्युटरको गणना गर्ने क्षमता पनि ह्वातै बढ्यो । यसै पृष्ठभुमिमा सन् १९९९ मा आधिकारिक रुपमा इन्टरनेट अफ थिङ्सको अवधारणा देखा पर्यो । यो दोश्रो मेशिन युगको र चौथो औद्योगिक क्रान्तिको चुरो पुर्वाधार तत्व हो । एक तथ्यांकका अनुसार अबको एक दशकमा ८० अरब भन्दा बढि आईओटी उपकरणहरु एक आपसमा जोडीई जनताले एक आपसमा सम्र्पक र सञ्चार प्रवाह गर्नेछन् । लण्डनको एक बजार बिष्लेषक कम्पनी आईएचएसको प्रक्षेपण अनुसार सन् २०१५ मा प्रयोग भएको १५.४ अरब आईओटी उपकरण २०२५ सम्ममा ७५.४ अरब पुग्नेछ । सन् २०३० सम्म पुग्दा आईओटीकोे प्रयोगबाट विश्वको कुल ग्रार्हस्थ उत्पादनमा ११ प्रतिशत बृद्धि हुनेछ अर्थात १४ ट्रि«लियन अमेरिकी डलर विश्व अर्थतन्त्रमा थपिने छ ।

आईओटीले हरेक मुख्य उद्योगहरु, स्वास्थ्य सेवा, वित्तिय प्रणाली, यातायात, उर्जा उत्पादन प्रशारण तथा वितरण, कृषि, स्मार्ट शहर सेवा देखि अनगिन्ती क्षेत्रमा प्रभाव पार्नेछ ।

सन् २००५ मा रोजर मौगलसले ठुलो डाटाको नामाकरण गरे जसको आकार लगातार वृहत बन्दैछ । सन् २०१२ सम्ममा रहेको केही टेराबाइट डाटाबाट जेट्टाबाइट ( १ जेट्टाबाईट बराबर १ हजार अरब गिगाबाईट) मा पुगेकोछ । आईएचएस मार्किटको प्रक्षेपण अनुसार २०१७ सम्ममा इन्टरनेटमा जोडिएका लगभग २० अरब फोन, कम्प्युटर, सेन्सर र अरु उपकरणहरुमा सन् २०२० सम्ममा अर्को १० अरब थपिनेछ । बजारको सुचना अध्ययन गर्ने एक फर्म आईडिसिको अनुसार सन् २०१७ देखि २०२५ विचमा विश्व ‘डाटा क्षेत्र’ वार्षिक ३० प्रतिशतले बृद्धि हुनेछ ।

सन् २००८ मा ३ जना उत्तर अमेरिकी वैज्ञानिकहरुले कृत्रिम बुद्धिको विकासमा उच्च फड्को मार्दै डिप लर्निङ अल्गारिदमका विकास गरे । अल्गारिदमले ठुलो मात्रामा डाटाको अध्ययन विश्लेषण गर्ने, मानिसले जस्तै निर्णय गर्ने वा भविश्यवाणी गर्न सक्छ । यस्तो कृत्रिम बुद्धिले वा मसिन लर्निङले भाषाको अनुवाद, व्यक्तिको स्वर पहिचान, सडक र मानव व्यवहारको डाटा अध्ययन गरि रोवोटद्वारा चालक रहित गाडी चलाउने जस्ता काम सम्भव भएको छ । यसको माध्यमबाट अहिले बैंकको स्वरुपलाई परिवर्तन गर्ने मात्र होईन, डिजिटल मुद्राले नोट र सिक्कालाई विस्थापन गर्ने र कारोबारको सूचनालाई केन्द्रिकृत गर्न सक्नेछ । सन् २०३० मा पुग्दा एआईले मात्र विश्वको ग्रार्हस्थ उत्पादनमा १६ ट्रिलियन अमेरिकी डलर बृद्धि हुनेछ ।

सन् २००८ मा एप्सको निर्माण र गुगल र एप्पलले एप्स स्टोरको सेवा संचालन गरे । सन् २०२० को प्रथम त्रैमासिक सम्ममा गुगल स्टोरमा २५ लाख ६० हजार, एप्पल स्टोर मा १८ लाख ८५ हजार, विन्डोज स्टोरमा ६ लाख ६९ हजार र एमेजोन स्टोरमा ४ लाख ९९ हजार एप्स रहेकोछ । सन् २०१९ को अन्तमा सवै एप्स स्टोर्सहरुबाट २ सय ४ अरब डाउनलोड भएकोछ । एक अनुमान अनुसार युरोपियन यूनियन भित्र रहेका देशहरुमा मात्र प्रतिवर्ष १० अरब युरो बराबरको अर्थतन्त्र एप्सले सृजना गरेको छ र ५ लाख २९ हजारले रोजगारी पाएका छन् । सन् २०२० जूनको तथ्यांक अनुसार रोब्लोक्स नामको खेल एप्सले मात्र प्रतिदिन २७ लाख ४० हजार अमेरिकी डलर कमाउने गरेकोछ ।

फाईभजी सुचना संजालले नयाँ औद्योगिक क्रान्तिको आधारशिला तयार पारेको छ । यसले स्मार्ट समुदाय, यातायात र शहरहरु बनाउने सम्भावना प्रदान गर्छ । दक्षिण कोरिया र चीनले सिक्सजीको समेत अनुसन्धान शुरु गरिसकेका छन् र त्यो सन् २०२७ सम्ममा बजारमा आउने अनुमान गरिएको छ । एक अमेरिकी अर्बपति जेफ् वेजोसले व्लुओरिजिन नामक कम्पनी खडा गरि ‘अन्तरिक्षको औद्योगीकिकरण’ र अन्तरिक्षमा ‘मानव पर्यटन’ को योजना अघिसारेकाछन् । त्यसैगरि अर्का अमेरिकी अर्वपति एलोन मस्कले स्पेस्एक्स नामक कम्पनी स्थापना गरि मंगलग्रहमा आधिपत्य गर्ने योजना अघि सार्दै सन् २०५० सम्ममा मंगलग्रहमा मानव शहर निर्माण गर्ने घोषणा गरेकोछन् । त्यसैगरि युरोपियन युनिययनले अन्तरिक्ष योजना अन्र्तगत एरियन – ६ निर्माण गर्दैछ भने चीनले लिंक स्पेस नामक कम्पनी खडा गरी पुन प्रयोग हुने लंचरको पहिलो कदमको परिक्षण गरिसकेकोछ । जापान, भारत जस्ता देशहरु पनि त्यसको प्रयासमा छन् ।

कर्पोरेटतन्त्र, डाटा प्रभुत्ववाद र सर्भेलेन्स पूँजीवाद

अमेरिकी उपन्यासकार, सम्पादक र प्रोफेसर एडगर लरेन्स डक्टोरोले डिजिटल युगको मुटु भनेको बहुराष्ट्रिय नीगमहरुमा केन्द्रित सत्ता हो भनेका छन् र उनि त्यसलाई कर्पोरेटोक्रेसी भन्न उपयुक्त ठान्छन् । स्मीरनाइओसले सन् २०१६ मा गुगल, एमेजोन, फेसबुक र एप्पललाई चारजनाको गिरोहको संज्ञा दिएका छन् । उनले तिनलाई छोटकरिमा ‘गाफ्mा’को रुपमा चित्रित गर्दै तिनीहरुले ठाडो र तेर्साे सत्ता खडा गरेका र एक आपसमा साझेदारी गरेको बताएका छन् । उनले सन् २०१७ मा एसियाई भिमकाय नीगम सामसुङ, अलिवावा, बाइडु र टेन्सेन्ट पनि माथिकै परिभाषा भित्र पर्ने बताएका छन् ।

सिएनविसि नामक टेलिभिजन कार्यक्रमका सञ्चालक जीम केमरले सन् २०१३ मा फेसबुक, एप्पल, एमेजोन, नेटल्फिक्स र गूगलले बजारमा पूर्ण नीयन्त्रण गरेको बताएका छन् । सन् २०१५ पछि हवावे, डिडि, जेट्टीई र बाइट डान्स चिनिया र विश्वस्तरका सामसुङ, इन्टेल, सिस्को र ओरेकल उदियमान टेक जाइन्टको रुपमाछन् । ती भीमकाय टेक कम्पनिको सन् २०२० को पूँजिकरणको तथ्याँक हेर्दा एप्पलको १५७६, माईक्रोसफ्ट १५५१, एमेजोनको १४३३, अल्फावेट (गुगल) को ९८०, फेसबुकको ६७६, टेन्सेन्टको ६२१ र अलिवावाको ५८० अरब अमेरिकी डलर रहेको छ । यी कम्पनिहरु विश्वका एकदेखी क्रमसः सातौं धनि रहेका छन् र यिनीहरुको सम्पति विश्वका कैयौ देशहरुको भन्दा पनि धेरै छ । यस्ता डाटा वा प्रविधी भिमकाय कम्पनिहरुले उर्जा वा तेल नीगमहरु देखि मिडिया लगायत सबै क्षेत्रलाई उछिनिसकेका छन् ।

सन् २०१४ मा अमेरिकी लेखिका तथा विद्वान शोसना जुवोफले ‘विग डाटा’ सर्भेलेन्स पूँजिवादमा विकास भएको जनाएकि छन् । उनि भन्छिन् “यो सर्भेलेन्स पूँजिवादको चुरो त्यस्तो आर्थिक प्रणाली हो जस्ले नीजी डाटा लाई नाफाको उदेश्यले वस्तुको रुपमा किनवेच गर्छ ।” आज डाटा वा सर्भेलेन्स पूँजिवादले विश्वको शक्ति संरचनालाई परिवर्तन गरेको छ । खासगरी राष्ट्र–राज्यको शक्ति सन्तुलन कमजोर बनि थप रुपमा ठूला नीगम तर्फ ढल्केको छ । उन्नाइसौं र बिसौं शताब्दीको औद्योगिक पूँजिवादले व्यापक मात्रामा वस्तुको उत्पादन गर्दथ्यो । उपभोक्ता, कामदार र जनतासँग त्यो अन्तरनीर्भर थियो । तर त्यस विपरीत सर्भेलेन्स पूँजिवादले डाटामा आश्रित तर सर्भेलेन्स पुँजिवादको प्रक्रिया बारे अनभिज्ञ सर्वसाधारण जनतालाई शिकार बनाएको छ ।

सर्भेलेन्स पूँजिवादले जनताको आत्मनिर्णयको मनोवैज्ञानिक र राजनैतिक आधारलाई चुनौति दिएको छ । त्यसता निगमहरुले जनताको निम्न चेतना, अज्ञानता, सहायता वेगरको सिकाई, असावधानी, असुविधा, आदत वा खास उद्देश्य नबोक्ने जस्ता मानविय कामजोरिलाई प्रयोग गर्दै जनता वा प्रयोगकर्तालाई जालमा पार्दछन् र उनिहरुको ‘आत्मनिर्णय’ माथि नराम्ररी प्रभावित गर्दछन् । उदाहरणको रुपमा यदि हामी नियमित रुपमा किन्डल प्रयोग गर्दछौं भने डाटा, अनुहार पहिचान र बायोमेट्रिक सेन्सरहरुद्धारा त्यो व्यक्ति के मन पराउँछ वा पराउँदैन, उसको मनोभाव के छ ? कस्तो पुस्तक पढ्दा उसको शरीरमा के प्रभाव पर्दछ भन्ने कुरा अमेजनले थाहा पाउँछ । यहाँ सम्म कि त्यस्ता भिमकाय नीगमहरुले भविश्यमा मानव दिमागलाई समेत ह्याक गर्न सक्छन् ।

सर्भेलेन्स पूँजिवादको अर्को रुप राजनितिक अभियान या चुनाव अभियानलाई प्रभाव पार्नु पनि रहेको छ । द ग्रेट ह्याक नामक डकुमेन्ट्री फिल्ममा क्याम्ब्रिज एनालिटिक नामक कम्पनीले फेसबुकलाई प्रयोग गरि सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित गरेको उल्लेख गरेको छ । सो विवादका कारण फेसबुकले आगामी नोभेम्बरमा हुन गईरहेको अमेरिकी राष्ट्रपति निर्वाचनको मिति भन्दा एक हप्ता अगाडीबाट राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेकोछ । सन् २०१० देखि २०१२ को अरब विद्रोह र सन् २०१८ को फ्रान्सको पहेंलो भेष्ट आन्दोलनमा समेत सामाजिक संजालको भुमिकाका कारण शक्तिशाली बनेको थियो । जुवोफको विचारमा अहिलेको सर्भेलेन्स पूँजिवाद माथिबाट गरिएको सत्ता पलट जस्तै हो ।

डाटा प्राप्ती, विष्लेषण, प्याकिंग, विक्रि र अतिरिक्त लाभ

ईन्टरनेटको उदयले कम्प्युटर कम्प्युटर विच, डिभाईस डिभाईस विच सूचना वा डाटाहरु ट्रान्सफर हुन्छ । ठूला डाटा कर्पोरेशनहरुले निम्न क्षेत्रबाट डाटा प्राप्त गर्दछन् ।
क) कम्प्यूटरको माध्यमबाट भएका आर्थिक कारोवारहरु, कम्प्यूटर माध्यमवाट संस्थागत र विश्वव्यापी संस्थागत प्रणालीहरु जस्तै अरवौं सेन्सरहरुबाट वस्तु, शरीर र स्थानका डाटाहरु प्राप्त गर्ने गर्दछन् । गुगलको मेशिन लर्निंगमा गरिएको नयाँ लगानीका क्षेत्रहरु जस्तै ड्रोन, लगाउने बस्तुहरु, मानवरहित गाडी, नानो पार्टीकल (त्यसले मानिसको शरीरको निगरानि वा सूचना प्रवाह गर्छ । जस्तो रोगको लक्षण शुरु देखि नै पहिचान गर्न सघाउँछ, घरमा प्रयोग हुने साना, चुस्त उपकरणहरुको बढ्दो संजालको माध्यमबाट असिमित डाटाहरु संकलित गरिन्छ ।

ख) कर्पोरेशन र सरकारको डाटाकेन्द्रबाट प्राप्त डाटा जस्तो बैंक, भुक्तानी प्रणाली, कर र जनगणना तथ्यांक, श्वास्थ्य सेवा, क्रेडिट कार्ड, विमा, औषधी उद्योग र टेलिकम कम्पनी लगायतका क्षेत्रका डाटाहरु ।
ग) चरित्र र विषयवस्तुको विविधता र खास चिन्ह माथि भर नपर्ने प्रभाव, निजी र सरकारी निगरानीका क्यामेरा जस्मा स्मार्टफोनदेखि स्याटालाईट, सडक दृश्यदेखि गुगलअर्थबाट प्रभाहित हुने डाटाहरु ।
घ) साना डाटाबाट जोडिंदै बनेको ठूलो डाटा अर्थात व्यक्तिहरुको निजि कम्प्यूटर जडित कार्यहरु, फेसवुकले हार्भेस्ट गर्ने लाईक्स, गुगल सर्च, ईमेल, टेक्स्ट, फोटो, गीत, भिडियो, स्थान, संचार स्वरुप, नेटवर्क खरीद, हिँडडुलका गतिविधिहरु, हरेक ल्किक, पेजभ्यू आदिवाट प्राप्त हुने डाटाहरु ।

गूगल फेसबुक लगायतका टेक जाईन्टहरुले माथि उल्लेख गरिएका श्रोत वा तरीकाबाट डाटा प्राप्त गर्छन्, त्यसलाई डाटाकरण गर्छन्, सारसंक्षेप्तीकरण गर्छन्, जोड्छन्, विष्लेषण गर्छन, प्याक गर्छन् र बेच्छन् । फेरि थप विष्लेषण गर्छन र वेच्छन् । साथसाथै ती कम्पनीहरुले डाटा दलालबाट डाटा किन्ने, जम्मा पार्ने, विष्लेषण गर्ने र प्याक गर्ने र बेच्ने गर्दछन् ।

यसरी डाटा पूँजिवाद वा सर्भेलेन्स पूँजिवादले मान्छेका व्यवहार र अनुभवलाई कच्चा पदार्थ मान्दछ र त्यसलाई सम्वन्धित डाटामा उल्था गरी त्यस्ता डाटाहरु मेशिन ईन्टेलिजेन्स वा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग गरी पूर्वानुमान वस्तु तयार पार्दछन् र त्यस्ता पूर्वानुमान वस्तुहरु भविष्यको पूर्वानुमान वजारमा बेच्दछन् । डाटा पूँजिवादले मानव व्यवहारका असीमित डाटा संकलन गरी त्यसबाट अतिरिक्त लाभ प्राप्त गर्दछ । औद्योगिक क्रान्ति कालमा श्रमिकको श्रम पूँजिपतिका लागि खरिद गर्ने एउटा माल थियो र त्यस माललाई शोषण गरी पूँजिपतिले अतिरिक्त लाभ प्राप्त गर्दथे । तर अहिले नीजि डाटाहरुको किनवेच गरी एकाईसौं शताव्दीको पूजिवादले अतिरिक्त लाभ प्राप्त गर्दछन् । एकाईसौं शताव्दीको पूँजिवादको स्वरुप उन्नाईसौं र विसौं शताव्दी भन्दा भिन्न छ । उन्नाईसौं र विसौं शताव्दीमा नगरहरुको विकासले सिटिजनको अवधारणा अगाडी ल्यायो भने एकाईसौं शताव्दीमा नेटिजनको अवधारणा अगाडी आएकोछ ।

अबको विश्व र हामी

माथिका तथ्य र विष्लेषणलाई हेर्दा अहिलेको पूँजिवादको मुल चरित्र डाटा पूँजिवाद वा डाटा प्रभुत्ववाद रहेको छ । विग डाटाको विकास, कम्प्युटरको गणना गर्ने क्षमतामा गुणात्मक फड्को, आर्टिफिसियल इंटेलीजेन्सको विकास र जैविक रसायनिक र जैविक प्राविधिक क्षेत्रमा देखिएको फड्कोका कारण अबको सामाजिक आर्थिक रुपान्तरणको स्वरुप विगतको भन्दा नितान्त भिन्न हुनेछ । अल्गारिदमको प्रयोगबाट मानिसहरुको जैविक रसायनिक डाटाहरुको विश्लेषण गरी मानिसहरुले के सोच्दैछन् र उनीहरु भित्र कस्तो सम्बेदना प्रकट भएकोछ, कस्तो रोगहरु देखा पर्दैछन् वा पर्न सक्छ भन्ने शुरुबाट थाहा पाउन सकिने हुँदा कैयौं रोगहरुको उपचार सहज र सम्भव हुने कुरा जस्ता कैयौं सकारात्मक पक्षहरु प्नि छन् ।

यो २१ औं शताव्दीको पूँजिवादको मुख्य रुप डाटाको संकलन, खरीद बिक्रि बिशेष रुपले नीजि डाटाको खरीद विक्री बन्न पुगेको छ । फेसबुक लगायतका सामाजिक संजालमा विभिन्न व्यक्तिहरुले पोष्ट गरेका नीजि डाटाहरु ती व्यक्तिहरुले केहि समय पछि विर्सन सक्छन् । तर ती निगमहरुले अनन्तसम्म सुरक्षित राख्छन्, त्यसको विश्लेषण गर्छन् र त्यस आधारमा व्यापार लगायत विभिन्न क्षेत्रमा आफ्ना रणनीति तयार गर्छन् । ती ठूला निगमहरु निरन्तर धनी बन्दैछन् र देश देशको विचको अन्तर पनि चुलिंदैछ । तिनीहरु डाटालाई (सूचना र ज्ञान) नियन्त्रण गर्ने होडमा छन् । आजको अमेरिका र चीन विचको व्यापारयुद्धको चूरो प्रश्न सूचना, प्रविधि र ज्ञान माथि कसले उछिन्ने भन्ने रहेकोछ ।

विश्व अर्थतन्त्र मुलरुपले बस्तु आधारितबाट ज्ञान आधारितमा फेरिएको छ । पहिला धनको मुख्य श्रोत भौतिक सम्पत्ति सुनखानी, जमिन, तेलका कुवा आदिलाई मानिन्थ्यो । जमिन, सुनका खानी र तेल कुवा लडाईबाट जित्ने र कैयौं देशहरुमा उपनिवेश खडा गरिन्थ्यो । तर अहिले ज्ञानव्दारा विजय प्राप्त गर्ने होडमा देशहरु रहेकाछन् ।

डाटा र प्रविधिमा आएको यो क्रान्तिले गर्दा सडकमा चालक रहित गाडी वा रोवोटले गाडी चलाउने, डाक्टरको रुपमा अपरेशन गर्ने, सुरक्षा गार्डको काम गर्ने, घरको सफा गर्ने, होटल –रेष्टुराँमा वेटरको काम गर्ने, पढाउने, सामान विक्रि गर्ने, उद्योग, व्यापार, कृषि लगायत अनेकौं क्षेत्रमा रोवोट र ए–आईको प्रयोगका कारण थुपै पेशा र कामदारहरुको पेशा जोखिममा परेको छ वा पर्नेछ । ईनटुईट नामक संस्थाको अनुमानमा सन् २०२० सम्ममा संयुतm राज्य अमेरिकामा मात्र १० देखि ५० प्रतिशत कामहरु जोखिममा पर्नेछन्् । ४० प्रतिशत कामदारहरु स्वतन्त्र ठेकेदार हुनेछन् । त्यहाँ गीग अर्थतन्त्र–अस्थाई काम तथा कामदारहरु रहने व्यवस्था) सामान्य बन्नेछ । कम्पनीहरुले कामदारहरुलाई केवल छोटो अवधीको लागी मात्र काममा भर्ति गर्नेछन् । चीनमा फक्स्कन् नामक कम्पनीले रोवोटको प्रयोग गरी सन् २०१६ यताका दुई बर्षमा मात्र साठी हजार कामदारहरुलाई कामबाट हटाएको छ । एआई सम्बन्धी विद्धान र वैज्ञानिक काइ फु लिका अनुसार यस क्रान्तिले एउटा ‘काम नलाग्ने’ वर्गको श्रृजना गर्नेछ । उनि भन्छन ५० वर्षको उमेरसम्म गाडी चलाइरहेका चालकलाई त्यस उमेरमा रोवोटले विस्थापन ग¥यो भने उनिहरु ‘बेकम्मा’ हुनेछन् । अर्को पेशा सिक्न उनीहरुको लागी त्यस उमेरमा असम्भव हुनेछ । त्यस अवस्थामा ती क्षेत्र र व्यक्तिहरुलाई कसरी अन्य क्षेत्र वा पेशाका लागि सक्षम गर्ने भन्ने प्रश्न सरकार र पार्टीहरुका काँधमा आईसकेकोछ । डाटा सुरक्षा र डाटा गोपनियता सम्वन्धी कानूनी र अन्य बन्दोवस्त आवश्यक बनेकोछ ।

उपरोक्त तथ्य र जानकारीले हामीलाई के सिकाँउछ भने हिजोको परिस्थिति वा अनुभवको व्याख्या गरेर आजको समाजको नेतृत्व गर्न, रुपान्तरण गर्न सम्भव छैन् । एकजना विद्धानले भनेका छन् “इतिहासकारहरु विगतको अध्ययन यसलाई दोहो¥याउन होइन त्यसको कमजोरीबाट आफुलाई मुक्त गर्नको लागी गर्दछन् ।”तसर्थ नेपालले विश्वको यो मार्ग चित्रको गहिरो अध्ययन गर्दै तदअनुरुप आपूmलाई बदली अगाडी बढ्न तयार गर्नु पर्दछ । सरकार, राजनीतिक दलहरु, प्रशासनयन्त्र, सुरक्षा अंग, शैक्षिक क्षेत्रको साङ्गोपाङ्गो रुपान्तरण विना यो सम्भव छैन् । त्यस मध्य पनि सबैभन्दा महत्वपूर्ण रणनीतिक विषय शिक्षाको सुधार गर्नु हो । नयाँ खोज र प्रविधिको प्रयोगव्दारा नयाँ नेपालको नयाँ उचाईको अर्थतन्त्रको जग बसाल्नु पर्दछ र जनताका मागलाई सम्बोधन गर्न सक्षम हुनु पर्दछ ।
(पूर्व अर्थमन्त्री पाण्डेद्वारा सहकारी सम्बन्धी नेशनल युथ फोरममा प्रश्तुत गरिएको कार्यपत्रको छोटो अंश)

प्रकाशित : २६ चैत्र २०७८, शनिबार ११:०६