महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश



काठमाडौं । महालक्ष्मी विकास बैंक लि. २८ औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिक उत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

यस शुखद अवसरमा बैंकले ग्राहक, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । साथै २७ वर्षको दरामियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुलनाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भएपनि पूराहोस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ ।

यसका साथ साथै बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमलहुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्ग निर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार १५:१४