पर्यटन पुनरुत्थान हुने गरी बजेट ल्याइने: बाेर्ड सदस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

पर्यटन पुनरुत्थान हुने गरी बजेट ल्याइने: बाेर्ड सदस्य



काठमाडौं । नेपाल पर्यटन बोर्डले बोर्डका नवनियुक्त बोर्ड सदस्य तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) र गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोभ) को नयाँ कार्य समिति सदस्यलाई स्वागत गरेको छ । सोमबार बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नवनियुक्त सदस्यहरुलाई स्वागत गरेका छन् ।


स्वागत कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त सदस्य मदन आचार्यले बोड नयाँ बजेटको तयारीमा रहेकोले सरोकारवाला सबैसँग छलफल र सम्न्वय गरेर बजेट निर्माण गर्ने बताए । उनले कोभिडले थलिएको पर्यटनलाई आन्तरिक तथा बाह्य रुपमा प्रर्वद्धन गर्ने गरी बजेट निर्माण गरिने समेत बताए ।

यस्तै बोर्डका अर्का नव नियुक्त सदस्य मिलन देवकोटाले पछिल्लो समय पर्यटन विस्तारै लयमा फर्किन थालेको उल्लखे गर्दै सबैको सहकार्यमा पर्यटनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गरिने बताए ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले हरतरहले काम गरिरहेको जानकारी दिँदै पछिल्ला दिनमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा गर्न सकिने बताए । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डलले हालसम्म गरेका कामहरुको जानकारी दिँदै आउने दिनमा नयाँ स्रोत बजारको पहिचान गरी सम्भाव्यताको अध्ययनमा बोर्ड केन्द्रित रहेको बताए ।

यस्तै सोही अवसरमा बोर्डले क्यानडामा नेपालको प्रर्वद्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपीआरआर) नरवहादुर टण्डनलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । क्यानडा तथा अमेरिकामा आफ्नो ट्रकबाट नेपालको पर्यटन प्रवद्र्धनको लागि काम गरे वापत बोर्डले उनलाई सम्मान गरेको हो ।

कार्यक्रमा सम्मानित (एचपीआरआर) टण्डनले विदेशमा सरकारी निकायबाट भइरहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै प्रभावकारी कार्यक्रम गर्न सके अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउन सकिने बताए । यस्तै बोर्डका कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रर्वद्धनका लागि स्पष्ट योजना,बजेट तथा कर्मचारीको वृति विकासमा ध्यान दिन आग्रह गरे ।

यस्तै कार्यक्रममा नाटाका अध्यक्ष रमेश थापा र भिटोभका अध्यक्ष गोपाल थापाले कोभिडपछिको पर्यटन प्रर्वद्धनका लागि बोर्डसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे । सरसफाईको माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धनमा काम गरिरहेका राजमान मानवले पर्यटनका लागि सरसफाई आवश्यक भएको बताउँदै आ आफ्नो ठाउँबाट सरसफाइमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार १७:४४