सरकारका लागि १५ अर्बको आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारका लागि १५ अर्बको आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार १५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले असार ७ गते १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४ ‘छ’ बोलकबोल गर्न लागेको हो ।

७ गते बोलकबोल सकेर ८ गते ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको अनलाईन विडिंग सिस्टम सफ्टवेयर मार्फत ऋणपत्र बोलकबोल हुने छ । यसको ब्याजदर पनि बोलकबोल कै माध्यमबाट निर्धारण हुने छ ।

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।

विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (नेप्से) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार ११:४७