सेयर बजारमा पौने ३ खर्ब गुम्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारमा पौने ३ खर्ब गुम्यो



stockकाठमाडौं, २३ मंसिर  । नेपाल स्टक एक्सचेन्जमा बजार परिसूचकसँगै बजार पुँजीकरणमा पनि कमी आएको छ । असोज मसान्तदेखि बुधबारसम्ममा नेप्सेको बजार पुँजीकरण मात्र २ खर्ब ६९ अर्ब रुपैयाँ घटेको छ । असोज अन्तिमसम्ममा १९ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण घटेर १७ खर्ब २९ अर्ब २० करोडमा झरेको छ ।

नेप्से परिसूचकमा कमी आएपछि बजार पुँजीकरण पनि स्वाभाविक रूपमा घट्छ । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरण भनेको सेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचीकृत सेयरहरूको कुल बजार मूल्य अर्थात् सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण मानिन्छ ।

असोज अघि अर्थात् चालू आवको पहिलो महिना साउनको १२ गते हालसम्मकै उच्च बिन्दु १८८१ कायम गरेको नेप्सेको बजार पुँजीकरण पनि २० खर्बभन्दा माथि थियो । सो बिन्दुबाट घट्न थालेको नेप्से परिसूचक बुधबार सम्ममा १५५३.९० अंकमा झरेको छ । त्यसैगरी, बजार पुँजीकरण पनि घटेर १७ खर्ब २९ अर्बमा झरेको छ ।

सेयर बजार सुधारको गतिमा हुँदा दैनिक २ अर्ब बराबरको सेयर कारोबार हुन्थ्यो । हाल दैनिक सेयर कारोबार रकम घटेर ५० करोडमा झरेको छ । गत मंसिरदेखि  निरन्तर घट्दो क्रममा देखिएको नेप्से २५० अंकले घटेको छ । नेप्सेसँगै बजार पुँजीकरण पनि २ खर्ब ६९ अर्ब ४० करोडले घटेको छ ।

बजार पुँजीकरणले समग्र बजारको अवस्था पनि देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्यांकन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा कमी आएको छ । औसत दैनिक २ अर्बको कारोबार हुने बजारमा बुधबार ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कारोबार सुरु हुँदा सकारात्मक रहेको नेप्से केही समयमा घट्न थालेको थियो ।

तर, सकारात्मक भए पनि ठूलो अंकको वृद्धि भएको थियो । सामान्य अंकको उतारचढाव कायम राखेको बजारमा बन्द हुने समयमा घटेर नै बन्द भयो । कारोबार सुरु हुँदा १५५४.५१ अंकमा रहेको नेप्से परिसूचक ०.६१ अंकले घटेर १५५३.९० अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको खबर आजको कारोकार दैनिकले खबर छापेको छ ।

प्रकाशित : २३ मंसिर २०७३, बिहीबार ०४:१६