उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई छाडिन्नः मन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई छाडिन्नः मन्त्री शर्मा



बिराटनगर  २८ मंसिर   । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।  प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको उनले बताए । मन्त्री शर्माले लोडसेडिङ फेरी नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको जानकारी दिए ।
प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन मन्त्रालय लागिपरेको जानकारी दिए । लोडसेडिङ अन्त्य भएपछि व्यापार व्यवसाय, शान्ति सुरक्षा र समग्र अर्थतन्त्रको क्षेत्रमा उत्साहजनक सुधार आएको भन्दै मन्त्री शर्माले लोडसेडिङ सदाको लागि अन्त्य गर्ने गृहकार्य भइरहेको बताए ।

उनले अँध्यारोको विरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए । मन्त्रालयले स्पष्टीकरण सोधेका ३ जना प्राधिकरण संचालकहरुतर्फ संकेत गर्दै मन्त्री शर्माले उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई कार्वाही गरेरै छाड्ने चेतावनी दिएका हुन् ।

प्रकाशित : २८ मंसिर २०७३, मंगलवार १४:००