विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने आईएमएफको प्रक्षेपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने आईएमएफको प्रक्षेपण



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने आधारभुत प्रक्षेपण गरेको छ । आइएमएफले जुलाई महिनाको वल्र्ड इकोनोमिक आउटलुक अपडेट अनुसार गत वर्षको ६.१ प्रतिशतबाट २०२२ मा आर्थिक वृद्धि दर ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको हो । जुन २०२२ को विश्व आर्थिक दृष्टिकोणको तुलनामा ०.४ प्रतिशत बिन्दु कम हो।

महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण, चार दशक यताकै उच्च हुन पुगेको मुद्रास्फीति, मुद्रास्फीतिले उदयमान तथा विकसीत अर्थतन्त्रमा निम्त्याएका समस्या, आकाशिएको मूल्यवृद्धि नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याज दर, विकसीत मुलुकको ब्याज दर उच्च हुँदा त्यसले विकासोन्मुख अर्थतन्त्रमा पारेको प्रभाव, चीनको शून्य कोभिड नीति र यसै नीतिले चिनियाँ अर्थतन्त्र तथा विश्व आपूर्ति श्रृङ्खला अवरोध र रुस–युक्रेन युद्धले सिर्जना गरेको खाद्य संकट तथा इन्धन आपूर्तिमा आएको समस्या जस्ता समस्याहरुका कारण विश्व अर्थतन्त्र निराशाजनक र अनिश्चित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


सन् २०२२ मा विश्वको वृद्धिदर २.६ प्रतिशत रहेकोमा २०२३ मा यो २.० प्रतिशतमा झर्ने, जोखिमहरू साकार हुने साथै मुद्रास्फीति थप बढ्ने २.० प्रतिशतमा झर्ने अनुमान छ । यस वर्षको सुरुमा न्यून वृद्धि, घरेलु क्रयशक्ति घटेको र कडा मौद्रिक नीतिले संयुक्त राज्य अमेरिकामा १.४ प्रतिशत अंकको तल झरेको छ।

यसैगरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनको यो वर्षको आर्थिक वृद्धि दर ३.३ प्रतिशत प्रक्षेपण गरिएको छ । चीनमा फैलिएको कोभिड–१९ संक्रमण र अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण यातायात मार्ग तथा बन्दरगाह बन्द हुँदा विभिन्न देशहरु समस्यामा परेका छन् ।

चीनको अर्थतन्त्र गत वर्षको आर्थिक वृद्धि दर ८.१ प्रतिशतबाट खुम्चिएर यस वर्ष ३.३ प्रतिशत हुने अनुमान आइएमएफले गरेको छ । चीनको आर्थिक वृद्धि दर कमजोर देखिएता पनि भारतको आर्थिक वृद्धि दर बलियो देखिएको छ । गत वर्ष ८.७ रहेको भारतको आर्थिक वृद्धि दर यो वर्ष ७.४ प्रतिशत हुने प्रक्षेपण आइएमएफले गरेको छ ।

सन् २०२२ को विकसीत देशहरुको आर्थिक वृद्धि दर २.५ प्रतिशत अनुमान गरिएको छ भने विकासोन्मुख अर्थतन्त्रहरुको आर्थिक वृद्धि दर ३.६ प्रतिशत प्रक्षेपण गरिएको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार १४:५३