उद्योग मन्त्रालयको पहलप्रति निजी उद्यमीहरुको स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योग मन्त्रालयको पहलप्रति निजी उद्यमीहरुको स्वागत



काठमाडौं, २९ मंसिर । विभिन्न कारणले विगत लामो समयदेखि बन्द रहेका निजी क्षेत्रका उद्योग प्रतिष्ठानहरु पुनः सञ्चालन गर्न सरकारले सहजीकरण गर्ने सम्बन्धी उद्योग मन्त्रालयको पहलप्रति निजी उद्यमीहरुले स्वागत व्यक्त गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघले शान्ति सुरक्षाको अभाव, चर्को लोडसेडिङ, मजदुर समस्या, नीतिगत कठिनाई लगायतका विभिन्न परिस्थितिबाट बन्द हुन पुगेका उद्योगहरु सरकारको सहयोग प्राप्त भएमा पुनः संचालन गर्न सकिने निजी क्षेत्रको धारणा रहिआएको सन्र्दभमा उद्योग मन्त्रालयको पहल सराहनीय रहेको उल्लेख गरेको छ ।

नेपाल सरकारको अग्रसरतामा संसदबाट केहि समय अघि पारित औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धि ऐन पारित गराउन सरकारले देखाएको तदारुकता एवं सरकारको पछिल्लो पटक बन्द उद्योग संचालनमा सहजीकरण गर्ने पहलले मुलुकभित्र उद्योग व्यवसाय विस्तारमा सरकार गम्भीर छ भन्ने सकारात्मक संदेश गएको विश्लेषण महासंघको छ ।

यस्तै, छुट्टै विज्ञप्ती जारी गर्दै  लघु, घरेलु तथा साना उद्योगहरु संचालन गर्न सरकारले सहयोग र सहजीकरण गर्ने निर्णयको नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ ।

बन्द रहेका उद्योगहरुको संचालनका लागि सरकारले सघाउने उद्योग मन्त्री नवीन्द्रराज जोशीले गरेको निर्णयको महासंघले विज्ञप्ती जारी गर्दै स्वागत गरेको हो ।

मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या झण्डै ३ लाख रहेका र जसमध्ये करिव १ लाख उद्योगहरु विभिन्न कारणले बन्द रहेको अनौपचारिक तथ्याँक छ । उद्योग मन्त्रीको यस निर्णयबाट बन्द अवस्थामा रहेका उद्योगहरु गाउँ देखि शहरसम्म संचालन भई राहत पुग्ने विश्वास गरिएको छ ।

बन्द भएका उद्योग संचालनका लागि आवश्यक कारण सहित २१ दिनभित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशन गर्ने उद्योग मन्त्रीको भनाइ उद्घृत गर्दै सम्पूर्ण लघु, घरेलु तथा साना उद्योग र सवै वर्गका उद्यमीहरुलाई सूचनाको प्रतिक्षा गर्न र तोकिएको मितिभित्र उद्योग बन्द हुनाको कारण र सरकारले सहयोग गर्नुपर्ने क्षेत्रका बारेमा स्पष्ट उल्लेख गरि प्रस्ताव पेश गर्न पनि महासंघ आग्रह गरेको छ ।

प्रकाशित : २९ मंसिर २०७३, बुधबार १०:५६