पुसमसान्तभित्र मर्जरमा गई कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई यस्तो छ सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुसमसान्तभित्र मर्जरमा गई कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई यस्तो छ सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न छुट पाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न छुटको व्यवस्था गरेको हो।

के- के छन् छुट व्यबस्थाहरु ?

१. वाणिज्य बैंकहरु आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाण्डौ उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छैन।

२. वाणिज्य बैंकहरु आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाण्डौ उपत्यका बाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याए श्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाण्डौ उपत्यकामा एक शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने छैन।

३. २०७९ पुस मसान्तभित्र गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंक अपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एकपटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त तथा पुनः नियुक्त हुन बाधा पर्ने छैन।

४. वाणिज्य बैंकहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एव स्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत विन्दुले थप गरिनेछ।

५. वाणिज्य बैंकहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १५:५४