दाता सम्मेलन कसरी हुँदैछ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दाता सम्मेलन कसरी हुँदैछ ?



काठमाडौं । आसन्न दाता सम्मेलनको तयारी करिब पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले प्रस्तुत गर्ने एजेन्डालगायतका कार्यक्रम तय भइसकेको छ । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग सम्मिलित समूहले बनाएको विपद्पछिको आवश्यक प्रतिवेदन (पीडीएनए)माथि छलफल केन्द्रित हुनेछ भने सोहि समयमा दाताहरुले आ–आफ्नोतर्फबाट गर्ने सहयोगको घोषणा गर्नेछन् ।

फाइल फोटो
फाइल फोटो

नेपालले पुनःनिर्माणका लागि ६ खर्ब ६६ अर्ब लाग्नेसहितको प्रतिवेदन सम्मेलनमा राख्नेछ ।आषाढ १० गते काठमाडौंको होटल सोल्टीमा हुने एकदिने सम्मेलनलाई तीन चरणमा विभाजन गरिने छ । सम्मेलनको पहिलो सत्र अर्थात् उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् भने नेपालले प्रस्तुत गर्ने एजेन्डामा दुई फरक सत्रमा छलफल हुने अर्थ सचिव सुमनप्रसाद शर्माले  बताए । उनले सरकारले पूर्ण तयारी गरेर नै दाता सम्मेलन गर्न लागेको पनि बताए ।

सरकारले दाता सम्मेलन अगावै पुनःनिर्माण संयन्त्र गठन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जीन फिङलगायत दातृराष्ट्र एवं निकायमा औपचारिक पत्र पुगिसकेको मन्त्रालयले जनाएको छ । दातृ राष्ट्रबाट न्यूनतम मन्त्रीको सहभागिता हुने विश्वासमा सरकार छ ।

दातृ निकायको तर्फबाट विश्व बैंकका अध्यक्ष, एसियाली विकास बैंकका अध्यक्षलगायतका उच्च अधिकारी आउने अपेक्षा मन्त्रालयको छ । यसै साताको अन्त्यसम्म आउने आगन्तुकको नामावली प्राप्त हुने सचिव शर्माले बताए ।

सम्मेलनको अघिल्लो दिन अर्थात् आषाढ ९ गते सम्मेलनमा सहभागी हुने पाहुनाहरुलाई भूकम्पले क्षति पुर्‍याएको उपत्यकाका विभिन्न स्थानहरुको भ्रमण गराउने कार्यक्रम छ ।

सम्मेलनको संयोजकमा अर्थमन्त्री डा. रामशरण महत रहेका छन् ।

प्रकाशित : १ असार २०७२, मंगलवार १६:११