ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन



काठमाडौँ । राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।

पर्यटकको सुविधा तथा रात्रिकालीन व्यवसायीहरुको मागलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रलाई २४ सै घन्टा खुलाउने तयारी गरेको हो।

प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४ सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

“पर्यटकको सुविधा र व्यवसायीको मागलाई मध्यनजर गरी निश्चित सर्त र आवश्यक पूर्वाधार तयार गरेपछि खुल्ला गर्ने तयारी भएको छ, त्यसका लागि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ”, उनले भने।

उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिने गरी आन्तरिक र बाह्य क्लोज सर्किट टेलिभिजन (सिसीटिभी), डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता सर्त प्रशासनको छ।

प्रमुख पर्यटकीय व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा खुलाउनका लागि आवश्यक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए।

“अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ, ठमेलका सडक र भित्री गल्लीमा सौर्य बत्ती जडानको काम अघि बढाइएको छ। ठमेलभित्रको करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने काम ८० प्रतिशत बढी सकिएको छ, त्यसैगरी क्लोज सर्किट टेलिभिजन जडानको काम पनि सुरु गर्न लागेका छौँ, अबको डेढ महिनाभित्र सबै काम सक्छौँ”, उनले भने।

अध्यक्ष थपलियाले बाहिरी तथा आन्तरिक पूर्वाधार तयार भएपछि बढीमा डेढ महिनाभित्र ठमेल त्योभन्दाअघि नै दरबारमार्गलाई २४ सै घन्टा खुल्ला गरिने बताए।

परिषद्का अनुसार ठमेल क्षेत्रमा मात्र ३८ सय बढी विभिन्न व्यवसायी रहेका छन्। तीमध्ये ३०० बढी होटल तथा करिब ५०० को हाराहारीमा रेस्टुराँ छन्। परिषद्का अध्यक्ष थपलियाका अनुसार नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटकीय व्यापारिक स्थल ठमेल जाने गरेका छन्।

नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार सन् २०१४ मा हवाई मार्गबाट पाँच लाख ८५ हजार ९८१ पर्यटक नेपाल आएका छन्। स्थलगत रुपमा अढाइदेखि तीन लाख पर्यटक आउने अनुमान बोर्डको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशत कम हो। सन् २०१३ मा सात लाख ९७ हजार ६१६ पर्यटक नेपाल आएका थिए। जसमध्ये हवाई मार्गबाट मात्रै पाँच लाख ८७ हजार ८४२ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार १०:२०