काभ्रेका सहकारी पनि मर्जरकाे बाटाेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काभ्रेका सहकारी पनि मर्जरकाे बाटाेमा



पनौती नगरपालिका-४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा-७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ ।

सामुदायिक साकोसको मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

२०५१ साल माघ १४ गते स्थापना भएको सामुदायिकले यस अघि नै ९ वटा सहकारी संस्था एकीकरण गरिसकेको छ । काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको छ । त्यस्तै २०५३ साल भाद्र १५ गते स्थापना भएको युवा साकोसमा ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको छ ।

स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो ।

कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा साकोसका अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज नभएको बताउँदै ठूलो र बलियो भन्ने अवधारणालाई अंगिकार गर्न जरुरी रहको बताए । त्यसैको नतिजा स्वरुप दुई संस्थाहरु एकीकरणको सम्झौता गरेको बताए ।

त्यसैगरी सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरस पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको आवश्यकता रहेको बताए ।
एकीकरणको ढोका खुला नै राखेको र अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको छ बताए । अहिलेको एकीकरणले काभ्रेमा विग मर्जरको थालनी भएको समेत बताए ।

दुबै संस्थाको आगामी साधारण साभामा एकीकरणको प्रस्ताव पारित भए पश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ ।

एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप २ अर्ब ७० करोड हुनेछ । जगेडा कोष ३० करोड र अन्य कोषहरु २१ करोड गरी जम्मा कोष ५१ करोडको हुने संस्थाले जनाएको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार २१:३७