ब्याजदर वृद्धिको निर्णयप्रति महासंघको आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

ब्याजदर वृद्धिको निर्णयप्रति महासंघको आपत्ति



काठमाडौँ । निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । निक्षेपको ब्याजदर वृद्धिले कर्जाको पनि ब्याजदर अकासिने भएकाले त्यसले आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भन्दै महासंघले आपत्ति जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागु हुनेगरी ब्याजदर वृद्धि गरेकोेमा महासंघले बुधबार विज्ञप्ति जारी गरेर आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघ सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । ८ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको ब्याजदर वृद्धिको निर्णयले थप माथि लग्ने महासंघले जनाएको छ ।

‘अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलनसमेत करिब २० प्रतिशतले न्यून हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो ।’ पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेका व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुने महासंघले भनेको छ । यसै पनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउनसक्ने आंकलन गर्न सकिन्छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले सरोकारवाला समक्ष माग गरेको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार २०:०९