तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ नबिल र महिलातर्फ लक्ष्मी बैंकलाई उपाधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ नबिल र महिलातर्फ लक्ष्मी बैंकलाई उपाधि



पोखरा । गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिताको तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३८ समूह र महिलातर्फ ११ समूह गरी कुल ४९ समूहको सहभागिता थियो।

पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता असोज ७ र ८ गते गरी २ दिनसम्म चलेको थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र प्रतियोगिताको प्रमुख अतिथि रहेका थिए। प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबीच मैत्रिपूर्ण खेलसमेत सञ्चालन भएको थियो।

प्रतियोगिताको फाइनल खेलमा पुरुष समूहतर्फ नबिल बैंक लिमिटेडले सिद्धार्थ बैंक लिमिटेडलाई ट्राइबेक्ररमा हराउँदै तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिताको विजेता बनेको छ।

त्यसैगरी लक्ष्मी बैंक लिमिटेडले फाईनल खेलमा मेगा बैंक लिमिटेडलाई १–० गोलले हराउँदै प्रतियोगितको महिला समूहतर्फ विजेता बन्न सफल भएको छ।

प्रतियोगिताको पुरुषतर्फ सिद्धार्थ बैंकका अमित लम्साल, नबिल बैंकका फडेन्द्र जङ गुरुङ र अमित पौडेलले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् भने महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ, मेगा बैंककी तृष्णा प्रधान र पोखरा फाइनान्सकी स्मृति आले मगरले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन्।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा। रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बानियाँ, केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक पुष्कर सुर्खाली, उपनिर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर केसी, डेपलपमेन्ट बैंकर्स एसोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसीको उपस्थिति थियो।

पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारी र सञ्चालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए।

प्रकाशित : ९ आश्विन २०७९, आईतवार १४:०३