बारा–१ः उमाकान्त ढुक्क, पहिलो जित निकाल्ने दाउमा अच्युत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बारा–१ः उमाकान्त ढुक्क, पहिलो जित निकाल्ने दाउमा अच्युत



काठमाडौं । बारा– १ मा यसपटक पुरानै अनुहार प्रतिस्पर्धामा छन् । खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस नेता उमाकान्त चौधरी र एमाले नेता अच्युतप्रसाद मैनालीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । २०७४ सालमा पनि यी दुई नेता नै मैदानमा थिए । त्यसबेला यहाँबाट चौधरीले चुनाव जितेका थिए । चौधरीले २४ हजार ४ सय ५० मत ल्याउँदा मैनालीको मत २२ हजार ३० थियो । २०७४ मा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो । अहिले माओवादी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ । एमालेले जसपासँग गठबन्धन गरेको छ । त्यसैले स्वभाविक रुपमा यहाँ मैनालीभन्दा चौधरी बलियो उम्मेदवार हुन् ।

प्रतिनिधिसभामा राप्रपाबाट भक्तबहादुर दर्लामी र जनमत पार्टीबाट मनोजकुमार यादव पनि उम्मेदवार छन् । बैसाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा पनि सत्ता–गठबन्धन एमाले जसपा गठबन्धनभन्दा अगाडी छ । सत्ता गठबन्धनले त्यसबेला ४९ हजार ४ सय ८० मत ल्याएको थियो । एमाले–जसपा गठबन्धनले ३१ हजार ९ सय ५९ पाएको थियो । पहिले कांग्रेस एक्लै हुँदासमेत निर्वाचित भएका चौधरी यसपटक झन सहज र फराकिलो जित निकाल्नेमा विश्वस्त छन् ।

एमाले–जसपा गठबन्धनका मैनालीको हुने सम्भावना कमै मात्र रहेको तथ्यांकले देखाउँछ । अधुरा रहेका विकास निर्माणलगायतका काम पूरा गर्न यसपाली पनि जनताले आफूलाई जिताउने चौधरीले बताए । ‘नागरिकताका समस्या समाधान, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र फाष्ट ट्र्याक निर्माण योजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने मेरो प्रमुख अजेन्डा हो,’ उनी भन्छन्, ‘संविधान र लोकतन्त्र रक्षा गर्न पनि मैले भूमिका खेल्नेछु ।’ शिक्षा, स्वास्थ्यलमा पनि धेरै काम गर्न बाँकी रहेको उनले सुनाए ।

मैनालीले जनजीविका, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा आमुल परिवर्तनका लागि एमाले–जसपा गठबन्धनको जित आवश्यक रहेको बताउने गरेका छन् । उनले आफूले गर्न कामा १० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन् ।
स्थानीय तहसँग समन्वय गरी कालोबजारी नियन्त्रण गर्दै जनताका हितमा काम गर्ने, स्थानीय उत्पादनलाई प्रद्र्धधन र बजारीकरण गर्ने, भूमिहीनका समस्या समाधान गर्ने, सार्वजनिक सम्पत्ति रक्षा गर्नेलगायत योजना मैनालीको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार १५:१६