प्रदेश १ मा फस्टायो घरजग्गाको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रदेश १ मा फस्टायो घरजग्गाको कारोबार



काठमाडौं । प्रदेश १ मा घरजग्गा रजिष्ट्रेशनको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकले उक्त प्रदेशमा गरेको आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हाे । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुुसार प्रदेश १ को आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आवमा घरजग्गा रजिष्ट्रेशन संख्या १२.७ प्रतिशतले बढेको हो ।

त्यस्तै यस अवधिमा घरजग्गा रजिष्ट्रेशन बापतको राजश्वमा ३७.४ प्रतिशतले कमी आई रु.३ अर्ब ७६ करोड संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्या ३६.४ प्रतिशतले बढेको थियो भने रजिष्ट्रेशन बापतको राजश्व ६८.८ प्रतिशतले बढेर रु.६ अर्ब संकलन भएको थियो ।

समीक्षा वर्षमा सरकारले भू–उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागू गरेपश्चात् ठूला क्षेत्रफलका जग्गाहरुको वर्गीकरण र कित्ताकाटमा लगाएको रोकका साथै बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले आर्थिक गतिविधिमा प्रभाव पार्दा समग्र मागमा कमी आई घरजग्गा कारोवारमा प्रभाव पर्नाले थैली राजश्व रकम घटेको देखिन्छ ।

तर, बैंक वित्तीय संस्था र सहकारीहरुको दृष्टिबन्धक र ससीम कित्ताको कारोवार नियमित रुपमा भैरहेकाले रजिष्ट्रेशन संख्यामा वृद्धि भएको देखिएको छ ।

समीक्षा अवधिमा घर÷भवन स्थायी नक्सा पास संख्या १.५ प्रतिशतले बढेको छ । अघिल्ला वर्षको सोही अवधिमा यस्तो संख्या ३.३ प्रतिशतले बढेको थियो ।

जिल्लागत आधारमा झापा जिल्लामा घर नक्सापास सबैभन्दा बढी २३.६ प्रतिशतले बढेको छ भने ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी ८२.४ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा निर्माणका लागि प्रयोग हुने सामग्रीहरुको मूल्य वृद्धि उच्च रहेको तथा बैंकहरुको कर्जाको औसत ब्याजदर समेत वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा घर नक्सापास संख्या घटेको देखिएको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार १७:२४