विदेशमा बस्ने नेपालीका लागि सामाजिक सुरक्षा योजना कार्यविधि आउनु हाम्रो सफलता हो: कुल आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विदेशमा बस्ने नेपालीका लागि सामाजिक सुरक्षा योजना कार्यविधि आउनु हाम्रो सफलता हो: कुल आचार्य



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि सरकारले योजना कार्यविधि बनाएकोप्रति खुशी ब्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक भएकोप्रति आचार्यले सरकारलाई आभार व्यक्त गर्दै खुशी साटेका हुन् । उनले गैरआवासीय नेपाली संघको झन्डै १५ वर्ष लामो निरन्तर प्रयास पछि यस्तो सफलता हात परेको बताएका छन् ।
बुधबार सामाजिक संजालमा कार्यविधिसहित सन्देश सार्वजनिक गर्दै अध्यक्ष आचार्यले लेखेका छन्,‘लाखौं नेपालीहरुलाई लाभान्वित गर्ने गरी यो महत्वपूर्ण उपलब्धि हासिल गर्ने वातावरण बनाइ दिनु भएकोमा सम्माननीय प्रधानमंत्री शेर बहादुर देउवाका साथै माननीय श्रम मंत्री शेर बहादुर कुँवर तथा श्रम सचिव एक नारायण अर्याल विशेष धन्यवादका पात्र हुनुहुन्छ। यो अभियानमा निरन्तर सहयोग गर्नु हुने आदरणीय मुख्य सचिव शंकर दास वैरागीज्यू, सचिवज्यूहरु, महानिर्देशकज्यू लगायत सम्बद्ध सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु।’

अध्यक्ष आचार्यले आगामी दिनमा मध्यपूर्व, मलेसिया लगायत संसारभरि कार्यरत नेपालीहरुको जीवन र सम्मानित रोजगारी सुरक्षित गर्न सम्बद्ध सबै पक्षको सहयोग प्राप्त भैरहने विश्वास व्यक्त गरेका छन् ।

सुरक्षा कोषका विषयमा संघले सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसंगै बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेकाले बिदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताए ।

हाम्रो लामो समयको प्रयास, निरन्तर पहल र सहजीकरणको परिणामस्वरुप नेपाल सरकारले विदेशमा कार्यरत नेपाली नागरिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यविधि सार्वजनिक गरेकोमा अत्यन्तै खुसी लागेको छ। गैरआवासीय नेपाली संघको झन्डै १५ वर्ष लामो निरन्तर प्रयास पछि पनि घन्टी झुन्डाउन, बिरालो छोप्न निकै मेहनत गरेर लाग्नु पर्ने रहेछ भन्ने हामीले अनुभव ग-यौं। अन्तत: लाखौं नेपालीहरुलाई लाभान्वित गर्ने गरी यो महत्वपूर्ण उपलब्धि हासिल गर्ने वातावरण बनाइ दिनु भएकोमा सम्माननीय प्रधानमंत्री शेर बहादुर देउवाका साथै माननीय श्रम मंत्री शेर बहादुर कुँवर तथा श्रम सचिव एक नारायण अर्याल विशेष धन्यवादका पात्र हुनुहुन्छ। यो अभियानमा निरन्तर सहयोग गर्नु हुने आदरणीय मुख्य सचिव शंकर दास वैरागीज्यू, सचिवज्यूहरु, महानिर्देशकज्यू लगायत सम्बद्ध सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि मध्य पूर्व, मलेसिया लगायत संसारभरि कार्यरत नेपालीहरुको जीवन र सम्मानित रोजगारी सुरक्षित गर्न सम्बद्ध सबै पक्षको सहयोग प्राप्त भैरहने विश्वास लिएको छु।

कुल आचार्य

अध्यक्ष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

प्रकाशित : ६ पुष २०७९, बुधबार १६:२१