दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले यसरी बढाए नाफाको हिस्सा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले यसरी बढाए नाफाको हिस्सा



काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्र सुदृढ नरहेको अर्थविद्हरुले बताउँदै आएका छन् । केही समय अघिसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयंले पनि अर्थतन्त्र नकारात्मक रहेको बताउँदै आएपनी अहिले भने अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि नेपालको अर्थतन्त्रलाई सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन्।

केही समय पहिले तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि देशभरका उद्योगी व्यवसायी लगाएतका निजि संघ संस्थाहरु विरोधमा उत्रिएका थिए । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएपछि उद्योगी तथा व्यवसायी ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन् ।

देशमा हुने आम निर्वाचन लगाएत सरकार परिर्वतको माहोल चलेकाले केही समय मन्थर बनेको परिस्थितीबीच नयाँ सरकार गठन भयो । साथै, अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएसंगै वित्तीय बजारलाई प्रभावकारी र समावेशी बनाउनेमा प्रतिबद्धता जनाएका छन् । उनले उद्योगी लगाएत निजी क्षेत्रको माग चाडै समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्थमन्त्री आएपछि ‘संयोग भनौ, या अर्थमन्त्रीको कमाल’ माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम भएको छ भने संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम भएको छ ।

तर, ब्याजदर वृद्धिले गत ६ महिनाको अवधिमा वाणिज्य बैंकको नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । २२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १३.३० प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासमा ३३ अर्ब २३ करोड ३३ लाख नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा २९ अर्ब ३३ करोड १५ लाख थियो ।

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफाको हिस्सा परिर्वतन हुनेमा नबिल बैंक रहेको छ । यस बैंकको हिस्सा यस अवधिसम्म आइपुग्दा २.८५ प्रतिशतले बढेर १०.२८ प्रतिशत पुगेको छ । गत बर्षको यही अवधिमा यस्तो हिस्सा ७.४४ प्रतिशत मात्र रहेको थियो । नबिल बैंकले नाफाको हिस्सा परिर्वतनमा मात्र नभएर खुद नाफा कमाउनमा पनि पहिलो स्थान ओगटेको छ ।

त्यसैगरी, एभरेष्ट बैंकले नाफाको हिस्सा परिवर्तनमा १.९२ प्रतिशत बढेर पुसमसान्तसम्म आइपुग्दा ४.७८ प्रतिशत कायम राखेको छ । यस्तो नाफा गत बर्षको यसै अवधिमा २.८६ प्रतिशतमा सिमित रहेको थियो । अर्को एनआइसी एसिया बैंकको १.६६ प्रतिशतले बढेर ९.८५ प्रतिशत रहेको छ । जुन गत बर्षको यसै अवधिमा यस्तो हिस्सा ८.१९ प्रतिशत थियो ।

राष्ट्रिय बाणिज्य बैंकको नाफाको हिस्सा १.६२ प्रतिशतले परिर्वतन भएको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ८.१६ प्रतिशत पुगेको छ । गत बर्ष यस्तो हिस्सा ६.५४ प्रतिशत मात्र थियो । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५७ प्रतिशतले बढेर ५.२८ प्रतिशत पुगेको छ । यस बैंकको अघिल्लो बर्ष ३.७१ प्रतिशत रहेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बाणिज्य बैंकहरुमध्ये कृषि बिकास बैंकले भने गत बर्षको यसै अवधिमा ३.७४ प्रतिशत पुर्याएको योग्दानपनि गुमाएको छ । यस अवधिसम्म आइपुग्दा बैंकको नाफाको हिस्सा -४.१३ प्रतिशतले घटेर ०.३९ प्रतिशतमा झरेको छ । साथै, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र नेपाल बैंकको पनि यस्तो हिस्साको योग्दान १ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

प्रकाशित : १५ माघ २०७९, आईतवार २२:५०