उत्पादनलाई वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्छ: अध्यक्ष गोल्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उत्पादनलाई वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्छ: अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उत्पादनलाई वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

अहिले नेपालको आर्थिक अवस्था शिथिल बन्न पुगेको भन्दै आन्तरिक उत्पादन बढाउनका लागि लागत बढी रहेको र आयात रोक्दा राजश्व नउठ्ने समस्या रहेको उनले बताए ।

‘नेपालमा उत्पादन लागत बढी छ । अर्कोतर्फ आयात भएन भने सरकारी राजश्व पनि उठ्दैन,’ अध्यक्ष गोल्छाले भने । यस्तो अवस्थामा आयात प्रतिबन्ध लगाउने भन्दा पनि उत्पादनमा जोड दिनु पर्ने उनको भनाइ छ । उत्पादनलाई वृद्धि गरेर आयात प्रतिस्थापन गर्नु पर्ने उनले बताए ।

त्यस्तै, मुलुकको समग्र आर्थिक चक्र बिग्रँदो सहकारी र लघुवित्त संकटमा पुगेको उनको भनाइ थियो । आयातमा आधारित अर्थतन्त्रमा मूल्य अभिवृद्धि (भ्यालु एड) न्यून हुने हुँदा कूल गार्हस्थ्य उत्पादनको अनुपातमा कूल कर्जा प्रवाहको अवस्था बढ्दै गएको पनि गोल्छाले बताए ।

खुला सिमानाका कारण पनि राज्यले राजश्व गुमाइरहेको उनको भनाइ थियो । पहिले पनि यस्तो अवस्था आएको भए पनि ति सबै बाह्य कारणले भएकाले नेपालमा प्रभाव कम परेको भए पनि अहिलेको अवस्था आन्तरिक भएकाले समस्या जटिल बनेको उनको तर्क थियो ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार १२:३७