न्यून आय भएका बर्गकाे बीमा गरिदिने व्यवस्था गराैँ : कार्यकारी निर्देशक पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

न्यून आय भएका बर्गकाे बीमा गरिदिने व्यवस्था गराैँ : कार्यकारी निर्देशक पौडेल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आज आयोजित बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले आर्थिकरूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्न आग्रह गरे ।

कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिनका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिए । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमाप्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नै गर्नुपर्ने बताए ।

यसैगरी, नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्ने जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन र शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न आग्रह गरे ।

कार्यक्रमहरूमा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका प्रतिनिधि, अगुवा कृषक, कृषि तथा पशु प्राविधिक, बीमा अभिकर्ता, संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा यही माघ १८ गते गण्डकी प्रदेशको गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बीमा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजरा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरे ।

सम्झौतामा गाउँपालिकाभित्रका सबै नागरिकको दुर्घटना बीमा र घरहरूको सम्पत्ति बीमा गर्ने, सरकारी सम्पत्तिहरूको बीमा गर्नका लागि आवश्यक कार्य अगाडि बढाउने, कृषि तथा पशुपन्छी बीमा र कृषि औजारहरूको बीमा क्रमिक रूपमा गर्दै जाने लगायतका विषयहरू उल्लेख गरिएका छन् ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार १५:३४