सञ्चार माध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सञ्चार माध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह



काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर संघका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो । इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन गर्न मिल्ने गरी कानून संशोेधन गर्न माग गरेको छ ।

संघले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारको स्वामित्व भएका संस्थामा रहेको अव्यवस्थित विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।

साथै आउँदो बजेटमार्फत आर्थिक मिडियालाई आयकरमा विशेष छुटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आवश्यक सुझाव तथा निर्देशन दिन आग्रह गरिएकोे इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए । सो अवसरमा प्रधामन्त्री दाहालले सुझावलाई सकारात्मकरूपमा लिई कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिए।

देशको अर्थतन्त्र मजबुत बनाउन राज्य र निजी क्षेत्रको बीचमा सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्दै ‘मिडिया प्रतिपक्षीमात्र होइन उत्प्रेरक पनि हो’ भन्ने मान्यता लिएर सो संघ स्थापना भएको हो । संघले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक छलफल आयोजना गरेको थियो ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार १८:३५