बीमाका बारेमा सचेतना फैलाउने काममा कमी भएको छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कुराकानी

बीमाका बारेमा सचेतना फैलाउने काममा कमी भएको छ



राष्ट्रिय बीमा संस्थान निर्जीवन र जीवन बीमा व्यवसाय सञ्चालन गर्दै जीवन बीमाको क्षेत्रमा पहिलो सेवा प्रदायक संस्था बन्न सफल भएको छ । सरकारी स्वामित्वमा रहेको यस संस्थान देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने उद्देश्यले अगाडी बढेको हो । संस्थाले बीमाको पहुँचमा वृद्धि गर्दै व्यवसायमा विस्तार गर्न, सरल र सुलभ सेवा उपलब्ध गराउन, प्रविधिको उच्चतम प्रयोगबाट बीमा बजारमा संस्थाप्रति रहेको विश्वास अभिवृद्धि गर्न, बीमाको बारेमा सचेतना फैलाउन र उच्च प्रतिफल दिन सफल भएको छ ।

राष्ट्रिय बीमा संस्थान नेपालको जीवन बीमाको क्षेत्रमा एक सुनिश्चित भविष्यको पर्याय बनेको छ । तर, पछिल्लो समय संस्थानले कसरी कामहरु अगाडी बढाइरहेको छ । यस क्षेत्रलाई अझ बढी कसरी चुस्त, दुरुस्त र प्रभावकारी बनाएर अगाडी बढाउन सकिन्छ र सममायीक विषयमा केन्द्रीत रहेर राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकसंग हामीले कुराकानी गरेका छौ ।

हाल राष्ट्रिय बीमा संस्थान कसरी अगाडी बढिरहेको छ ?

बीमा संस्थान नयाँ टेक्नोलोजिमा जान खोजिरहेको छ । गतबर्ष देखि नै विभिन्न पेमेन्टहरु अनलाइनबाट भुक्तानी गर्न सुरु गरि सकेको छ । सके सम्म प्रविधि मैत्री बनाएर लैजाने अभियानमा हामी जुटेका छौँ । बीमा क्षेत्रमा अहिले मुख्य योजना अन्र्तगत २०७१/०७२ देखि प्रक्रियामा रहेको लेखापरीक्षणको काम पहिलो प्राथमिकतामा राखेका छौं ।  

तपाईले बीमा क्षेत्रमा खास समस्या के-के देख्नुहुन्छ ?

 जीबन बीमामा त्यति समस्या भएको मैंंले देखेको छैन् । तर, अहिलेको अधिकांश विवरण हेर्दा सबै कम्पनीहरुको व्यापार गत बर्ष भन्दा केहि घटेको देखिन्छ । थोरै कम्पनीको मात्र ग्रोथ राम्रो छ । जुन तरलता समस्याले गर्दा भएको हुन सक्छ । बजारमा तरलता समस्या छ । जसले बीमा गर्ने मानिस घटे र बीमा शुल्क संकलनमा गत बर्षको तुलनामा जुन हिसावमा बढ्न पर्ने हो त्यो बढेन् । बीमाका बारेमा सचेतना फैलाउन कमी भएर पनि समस्या भएको हो । त्यसलाई पनि सँगसँगै लिएर जान पर्छ ।

 राष्ट्रिय बीमा संस्थानले सचेतनाका कामहरु के के गरेको छ ?

खास गरी स्कुल, कलेज, सहकारीहरुमा बेलाबेलामा सचेतनाका कार्यक्रमहरु गछौं । बीमा भनेको के हो, यसले कसरी काम गर्छ भन्ने लगाएतका बारेमा विद्यार्थीहरुलाई दुई घण्टासम्मको क्लास दिइरहेका हुन्छौं ।

राष्ट्रिय बीमा संस्थानको गर्व गर्न लायक इतिहास हुदाँहुदै पनि संस्थानले खासै सन्तोसजनक काम गर्न सकेन भन्ने आरोप छ नि ?

सरकारी संस्था भएकाले विश्वास नगरेको हैन, विश्वास पनि गरिरहेका छन् । तर, कतिपय काम कारबाहीमा सरकारी ढिलासुस्ती हुने गरेका छन् । हाम्रो अवस्था हेर्ने हो भने कर्मचारीको संख्या एकदमै न्युन छ । कर्मचारी कार्यन्वयन छ पुर्ती छैन् । कर्मचारी लिन हामी लोकसेवाको प्रावधान अनुुसार जानुपर्ने हुन्छ । कर्मचारी नियमावली वि.स. २०७७ मा सर्वोच्चको आदेश अनुसार खारेज गरेको अवस्था छ । त्यो पुर्नलेखन गरेर स्वीकृत नगरी हामीले कर्मचारी लिन सकेका छैनौ । कर्मचारी नभएकाले त्यसको असर काममा परेको छ । १६५ दरबन्दीमा सय भन्दा तल झरिसकेको छ । अन्य ठाउँ नेपाल सरकार, राष्ट्र बैंकमा पनि कर्मचारीहरु परिक्षा दिइरहेका छन् । कर्मचारी घट्दै जाने र नयाँ कर्मचारी पनि लिन नसकेको अवस्था छ । पुर्ति गर्ने अरु विकल्प हामीसंग हुँदैन् । जसले गर्दा काम व्यवस्थित गर्न समस्या परेको छ । यसका लागि हामीले नियमावली पठाएका छौं । क्याबिनेटबाट स्वीकृती भएर आएपछि लागु हुन्छ ।

बीमा कम्पनी बढे, तर बीमाको पहुँच बढेको छैन् भन्छन, यसमा तपाईको बुझाई के छ ?

बीमाको पहुँच सबै ठाउँमा पुग्नुपर्छ । हरेक बीमा कम्पनीलाई बीमा बिस्तारका लागि अहिले चार जिल्ला तोकिएको छ । जसअनुसार निजी कम्पनीहरु गइरहेका छन् । हाम्रो संस्थाको मात्रै कुरा गर्ने हो भने कर्मचारी आएको भए कार्यलय संख्या पनि विस्तार गर्दै त्यसमार्फत बीमामा पहुँच बढाउने विचार थियो । आजको दिनमा ५० वटा कार्यलय पुर्याउने योजना थियो । तर त्यो सम्भव भएन र २३ वटा मात्र शाखाहरु भए । त्यसमा पनि पुरै कर्मचारी पठाउन सक्ने अवस्था छैन् । जसले गर्दा बीमा विस्तारका कार्यक्रम रोकियो ।

पछिल्लो समय बजारमा आएका नयाँ कम्पनीहरुले राष्ट्रिय बीमा संस्थान जस्तो पुरानो कम्पनीलाई पछि पारेको जस्तो लाग्दैन् ?

लाग्छ । तर यसमा धेरै नयाँले उछिन्न सकेका छैनन् । तर हामीभन्दा केहि पछि आएकाहरुले व्यवसायमा अलिकति उछिनेको अवस्था छ । साथै, हामीले सुरुदेखिनै कार्यालय बढाएर व्यवसाय विस्तार गर्नुपर्दथ्यो त्यो खाले ग्रोथ हुन सकेन । केही आन्तरिक कुराहरु गर्न बाँकी रहेकाले हाल केही अप्ठेरो छ । यो बर्षदेखि हामी नियमावली स्वीकृत भएर आएपछि यी सबै कुरा मिलाएर अगाडी बढ्छौ ।

आम सर्वसाधारणले बुझ्ने भाषामा बीमालाई कसरी परिभाषा गर्नुहुन्छ ?

खासगरी बीमा भनेको पैसा लगानी गर्ने उपकरण हो । साथै जोखिम हस्तान्तरण गर्ने खालको औजार पनि हो । यसलाई बुझाउनैपर्छ । तर, आम जनताले जसरी बुझ्न पर्ने हो त्यो हिसाबले बुझाउन नसकेकै होला । किनभने बीमालाई आ–आफ्नो तरिकाले व्याख्या गरेर जनतालाई बुझाउने खालका कुराहरु हामीले देखेका छौ । त्यसले समस्याहरुपनि ल्याउने गर्छ । सबै कुरा नबुझाइदिने, गलत सुचना प्रवाह गर्ने प्रचलन छ । त्यसैगरी जसले बीमा गर्ने हो उसले पनि कस्तो कम्पनी हो ? बीमाले के सुरक्षा दिन्छ ? प्रिमियम कति लाग्छ ? लगाएतका कुरा बुझ्न जरुरी छ । त्यसैले बीमा गर्नेले पनि बुझन जरुरी छ र हामीले बुझाउनपनि नसकेको हो ।

 बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कसरी पुर्याउदै हुनुहुन्छ ?

 क्यापिटल प्लान तयार गरेर नेपाल सरकारमा पठाइसकेका छौं । त्यसमा नपुगेको रकमलाई तीनवटा संस्थापक सेयरहोल्डरहरु छन् । उनीहरुले थप गरेर ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधारणमा सेयर खुल्ला गरेर पुर्याउने गरी स्वीकृतका लागि पठाएका छौं । जुन चैत्रसम्म पुर्याउनुपर्ने तोकिएको भएपनि छलफलकै क्रममा छ । त्यसबेलासम्म पुरा हुन्छ होला ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार १५:०३