अाजबाट फरवार्ड माइक्रोफाइनान्सको आइपिओ, कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अाजबाट फरवार्ड माइक्रोफाइनान्सको आइपिओ, कहाँबाट दिने आवेदन ?



काठमाडौं, ९  माघ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ९ गते आइतबारबाट शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको साधारण शेयर निष्काशनमा आस्बा लागू हुने भएको छ । योसँगै आस्बा लागू हुनेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स पहिलो वित्तिय संस्था हुनेछ ।

दुहबी सुनसरीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण निष्काशन गर्न लागेको हो । कम्पनीले यसअघि नै ३० हजार कित्ता शेयर कर्मचारीलाई ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५ लाख ४० हजार कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन पाउने भएका छन् ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) र अधिकतम ३ हजार कित्ता (३ लाख रुपैयाँ) सम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले छिटोमा माघ १३ र ढिलोमा माघ २३ सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

हाल १४ करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६ करोड रुपैयाँ बराबरको शेयर जारी गरेपछि पूँजी २० करोड रुपैयाँ पुग्नेछ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० तथा साधारण शेयरधनीको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।

आवेदन दिने स्थान

कम्पनीको शेयरमा लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको शाखा कार्यालय झौखेल भक्तपुर, उग्रचण्डी नाला काभ्रे, विराटनगर मोरङ, हात्तीमुढा मोरङ, रंगेली मोरङ, यर्लाबारी मोरङ, इनरुवा सुनसरी, धरान सुनसरी, खनार सुनसरी, धनकुटा धनकुटा, वसन्तपुर तेह्रथुम, खाँदबारी संखुवासभा, भोजपुर भोजपुर, वित्तामोड झापा, दुधे झापा, इलाम इलाम, फिदिम पाँचथर, ताप्लेजुङ ताप्लेजुङ, फत्तेपुर सप्तरी, गाईघाट उदयपुर, कटारी उदयपुर, मिर्चैया सिरहा, बर्दिबास महोत्तरी, मलंगवा सर्लाही, चन्द्रपुर रौतहट, कलैया बारा, सिर्सिया पर्सा, गोपीगञ्ज नवलपरासी, धकधई रुपन्देही, चन्द्रौटा कपिलवस्तु, सोनपुर दाङ, नेपालगञ्ज बाँके, सानोश्री बर्दिया, धनगढी कैलाली, सडकपुर कैलाली, महेन्द्रनगर कञ्चनपुर, दैजी कञ्चनपुर र सम्पर्क कार्यालय सिनामंगल, काठमाडौंबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

त्यस्तै एभरेष्ट बैंक लिमिटेडको काठमाडौंमा न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : ९ माघ २०७३, आईतवार ०४:५०